काठमाडौं - संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगमा द्वन्द्वपीडितको प्रतिनिधित्व नपरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पीडितको पक्षबाट प्रतिनिधि राख्ने जिम्मा आफूले लिने बताएका छन्।

बूढानीलकण्ठस्थित आफ्नै निवासमा सोमबार बिहान पीडित प्रतिनिधिहरूसँगको भेटमा देउवाले भने, ‘जान्न नभन्नुहोला, मलाई दुई जनाको नाम दिनुस्, म जिम्मा लिन्छु।’

सिफारिस समितिले तयार पारेको ३४ जनाको संक्षिप्त सूचीमा पीडित प्रतिनिधि नपरेको भन्दै उनीहरूले असन्तोष जनाउँदै आएका छन्।

यसअघि आइतबार द्वन्द्वपीडित प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेर प्रक्रिया पारदर्शी र निष्पक्ष बनाउन माग गरेका थिए।

प्रधानमन्त्री ओलीले पनि सिफारिस समितिले पीडितसँग परामर्श नगरेको गल्ती स्वीकार्दै सबै पीडितहरूलाई विश्वासमा लिएर अघि बढ्न आग्रह गरेका छन्।

पीडित प्रतिनिधिहरू सोमबार नै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गर्ने कार्यक्रम छ।

पीडितका तर्फबाट देवी खड्का, डा. राम भण्डारी, सुमन अधिकारी, मैना कार्कीसहितको टोली देउवालाई ध्यानाकर्षण गराउन पुगेको थियो।