काठमाडौं - पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अनियमितता भएको भन्दै उठेको विवादको असर भैरहवा विमानस्थल अध्ययन समितिमा पनि देखिएको छ। यसै सन्दर्भमा एमाले सांसद योगेश भट्टराईले भैरहवा विमानस्थल अध्ययन गर्न गठित संसदीय उपसमितिमा बस्न अस्वीकार गरेका छन्।

संसदीय सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले भट्टराईको स्थानमा सांसद अच्युत मैनालीलाई संयोजक तोकेको जानकारी दिए पनि समितिका अन्य सदस्यहरूले त्यसमा सहमति जनाएनन्। सभापति पोखरेलले छिट्टै नयाँ संयोजक टुंगो लगाएर एक साताभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएका छन्।

सांसद भट्टराईले पोखरा विमानस्थलसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने तरिका र त्यसमा उठेका प्रश्नहरूकै कारण आफूले भैरहवा अध्ययन समितिमा नबस्ने निर्णय लिएको स्पष्ट पारे। उनले भने, ‘टीओआरका आधारमा प्रतिवेदन बनाइएको छ। स्वार्थको द्वन्द्व भएको रिपोर्ट पोखराका हकम देखिन्छ। ती प्रतिवेदनहरू शंकाको घेरामा छन्। पोखराको प्रतिवेदन कसरी स्वार्थ रहित छ?’

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले पनि पोखरा विमानस्थलसम्बन्धी अध्ययनमा प्रतिवेदन समितिमा बुझाउनु अघि बाहिर ल्याएको भन्दै आलोचना गरे। उनले विवादमा तानिएका व्यक्तिलाई नयाँ समितिको संयोजक बनाइनु नहुने धारणा राखे।

पोखरा विमानस्थलको अध्ययन प्रतिवेदनलाई लिएर उठेका प्रश्नहरूका बीच भैरहवा अध्ययन समितिको काम कस्तो ढंगले अगाडि बढ्छ भन्नेमा अब चासो बढेको छ।