काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा बोर्डको दाबी भुक्तानी मूल्यांकन गर्न जनशक्ति अभावमा देखिएको समस्या समाधान गर्न अस्थायी दरबन्दी थप्न गरेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।
गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट बोर्डका लागि चार सय दुईजना जनशक्ति थपिने भएका छन् । बोर्डका लागि मन्त्री पौडेलले अधिकृतस्तरका ५६ जना तथा सहायकस्तर र श्रेणीविहीन ३४६ जना जनशक्तिको अस्थायी दरबन्दी स्वीकृतिका लागि प्रस्ताव लगेका थिए ।
हाल बोर्डमा जनशक्ति अभावमा गत साउनसम्मको दाबीमा मात्र मूल्यांकन सकिएको छ । बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले थपिएका अस्थायी जनशक्तिले चालु आवभित्रै बाँकी दाबिमा मूल्यांकन सक्ने लक्ष्यमा सघाउने विश्वास व्यक्त गरे ।
मन्त्रिपरिषद्को निर्णयअनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा १२९, गेटा अस्पताल धनगढीमा १४१ तथा डडेलधुरा अस्पतालमा ३१३ जनाको अस्थायी दरबन्दी स्वीकृत भएको छ ।
यसले ती अस्पतालहरुले सञ्चालनमा खेपिरेहको समस्या समाधानमा सहजता ल्याउने विश्वास गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । ‘संगठन तथा व्यवस्थापन संरचनाको काम नसकिंदासम्म यसले सेवा सञ्चालनमा बोर्ड र अस्पतालहरुमा सहजता आउने विश्वास गरिएको छ,’ उनले भने ।




0 comment