काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (शनिबार) भएको माओवादी पुनर्मिलन कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पुनः माओवादी केन्द्रमा फर्किएका नेताहरूलाई पार्टीमा स्वागत गरेका छन् ।

काठमाडौंको दक्षिणपश्चिम क्षेत्र (कीर्तिपुर-थानकोट) आसपास सक्रिय विभिन्न माओवादी पृष्ठभूमिका नेताहरू पुनः माओवादी केन्द्रमा ध्रुवीकृत भएका छन् । अध्यक्ष दाहालले कार्यक्रममा यो पुनर्मिलनलाई माओवादी आन्दोलनको एकताको दिशामा महत्वपूर्ण कदमको रूपमा व्याख्या गरे ।

‘ध्रुवीकरणमा आउनु भएका मोतिरत्न अमात्यलगायत विभिन्न पार्टीबाट पुनर्मिलनमा आउनुभएका सबैलाई म हार्दिक बधाई दिन चाहन्छु । यो सुरुआत हो,’ उनले भने । उनले पुनर्मिलनमा सहभागी भएकाहरूको परिचयले यो प्रक्रिया केवल व्यक्तिगत निर्णय नभई आन्दोलनको समग्र एकताको संकेत भएको उल्लेख गरे ।

‘तपाईंहरूको यो निर्णयले माओवादी आन्दोलनबाट विभाजित धाराहरूबीच नयाँ वातावरण सिर्जना गर्नेछ,’ उनले भने । दाहालले आगामी दिनमा माओवादी शक्तिहरूको ध्रुवीकरण ज्यामितीय रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष दाहालले माओवादी घटकहरू, विशेषतः समाजवादी मोर्चामा रहेका दलहरूसँग छलफल भइरहेको जानकारी दिँदै अहिलेको पुनर्मिलन प्रयास बहुआयामिक रहेको र यसले माओवादी एकतामा नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरे ।

उनले विगतमा पार्टी विभाजनका कारण आन्दोलन कमजोर भएको बताए । उनले भने, ‘पार्टी विभाजन भएर कसैलाई फाइदा भएको छैन । अब हामी सबैले अनुभवबाट सिकेर क्रान्तिकारी कम्युनिस्टहरू एक हुनैपर्छ ।’

दाहालले नेकपा मसालको महासचिवको हैसियतमा आफूले विगतमा खेलेको एकता प्रयासलाई स्मरण गरे । अहिले पनि माओवादी शक्तिहरूलाई एक ठाउँमा ल्याउन निरन्तर प्रयास गरिरहेको उनको दाबी छ । ‘पार्टी एकता र ध्रुवीकरणको वातावरण बनाउन, आधारभूत वर्गलाई विश्वासमा लिन सरकारमा रहँदा पनि हामीले सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा सुबिचारित भूमिका खेलेको थिएँ,’ उनले भने ।

कार्यक्रमको समापनमा अध्यक्ष दाहालले पुनर्मिलनको यो पहल अर्थपूर्ण र बहुआयामिक भएको उल्लेख गर्दै सबैलाई एकताको यात्रामा अघि बढ्न आह्वान गरे ।