काठमाडौं - नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको अपराधको माफी नमागेसम्म एकता नहुने ठोकुवा गरेका छन्।

काठमाडौंमा शनिबार आयोजित पार्टी निकट आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पाण्डेले संसद् विघटनजस्तो राजनीतिक अपराधको माफी नमागेसम्म वामपन्थी एकता सम्भव नभएको बताए।

प्रधानमन्त्रीलाई बजेट सम्बन्धी सुझाव दिन गएको विषयमा अनावश्यक कुप्रचार भएको उनको दाबी थियो।

‘हामी नीति निर्माणका लागि सुझाव दिन बालुवाटार गएका थियौँ, तर त्यसलाई तोडमोड गरेर ओली–नेपाल मिलनको हल्ला फैलाइयो,’ पाण्डेले भने, ‘हामी जुन कारणले पार्टीबाट छुट्टिएका थियौं त्यो कारण अझै यथावत् छ ।

उनले केही नेताहरू मिल्न चाहने मनस्थितिमा देखिए पनि त्यो सम्भव नहुने संकेत दिए। ‘कोही नेताहरू मिल्न पाए हुन्थ्यो भनेर रहर गरिरहेका छन्,’ उनले भने, ‘तर हामी गलत निर्णयसँग कहिल्यै सहमत हुन सक्दैनौँ।’ पाण्डेले एकता सम्भावना ओलीको आत्मसमिक्षा तथा माफीमा निर्भर रहेको सन्देश दिएका छन्।