काठमाडौं - सरकारले खोप लगाउन छुट भएका ५ वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको छ ।
स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाप्रमुख डा.अभियान गौतमले छुट बालबालिकालाई ९ प्रकारका नियमित खोप लगाइने जानकारी दिए । ‘नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई हामीले वैशाख ३१ गते खोप लगाउँदैछौँ,’ उनले भने, ‘त्यो दिन विगतमा नियमित खोप लगाउन छुटेका बालबालिकाले खोप लगाउनेछन् ।’
नेपालमा पाँच वर्षमुनिका ९५ प्रतिशत बालबालिकाले पूर्ण खोप लगाइसकेका छन् । शाखा प्रमुख डा.गौतमले छुटेका पाँच प्रतिशत बालबालिकालाई खोजी गरेर खोप लगाइने बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाउन छुट भएका आ-आफ्ना सबै बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर खोप लगाउन अभिभावकलाई आग्रह गरेको छ ।



0 comment