काठमाडौं - नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको अभियान टोलीले धनगढी उपमहानगरपालिका १८, फूलबारी डिपो बजारमा सहिद परिवारहरूसँग भेटघाट तथा अन्तर्क्रिया गरेको छ ।

त्यस अवसरमा सहिद परिवारका तर्फबाट ज्ञापनपत्र पनि बुझाइएको छ । अध्यक्षले सहिद परिवारका माग र पीडालाई पार्टीले गम्भीरतापूर्वक लिएको स्पष्ट पारे । उनले भने, ‘समस्या जहाँ समाधान गर्न सकिन्छ, त्यहीँ गर्नेछौं, नसके केन्द्रमा पुर्‍याएर अगाडि बढाउनेछौं ।’

उनका अनुसार अहिले पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार देशभर सहिद तथा बेपत्ता परिवारहरूसँग संवाद भइरहेको छ । अध्यक्षले स्मरण गरे, ‘प्रधानमन्त्री हुँदा जनयुद्धलाई राष्ट्रिय दिवसका रूपमा घोषणा गरिएको थियो, जुन सहिद, बेपत्ता र योगदान दिने सबैको सम्मानको विषय हो ।’

अदालतको आदेशका कारण त्यो प्रक्रिया रोकिए पनि पार्टी अझै त्यसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने पक्षमा रहेको बताएका छन् । ‘सहिदहरू राष्ट्रिय सहिद घोषित हुनु सन्तोषको कुरा हो,’ उनले भने । सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको, सिफारिस समिति बनेको र त्यसको आधारमा आयोग बन्ने प्रक्रियाले गति लिएको दाहालको भनाइ छ ।

‘आयोग बनेपछि राज्यले सहिद तथा बेपत्ताका नाममा प्रमाणिक मान्यता दिने, स्मृति पार्क निर्माण गर्ने, प्रमाणपत्र वितरण गर्ने व्यवस्था गरिनेछ,’ उनले भने । साथै उनले कम्तीमा एकजना परिवारका सदस्यलाई रोजगारी दिने, सार्वजनिक यातायातमा छुट दिने र परिपूरण सुनिश्चित गर्ने कानुनी व्यवस्था विधेयकमै रहेको जानकारी दिए । जनयुद्धमा समर्पित परिवारको योगदानको स्मरण गर्दै अध्यक्ष दाहालले भने, ‘हामी तपाईंहरूका पीडा बिर्सेका छैनौं । बिर्सने पनि छैनौं ।’