काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले अनाथ तथा सहिद परिवारका बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् ।
भजनी नगरपालिका ५ स्थित कर्मेश्वर माविमा आयोजित शैक्षिक कार्यक्रमका क्रममा अध्यक्ष दाहालले अल्पसंख्यक राजी समुदायका कक्षा ३ मा अध्ययनरत निन्दु राजी र सहिद परिवारकी कक्षा १० मा अध्ययनरत अनिशा थरुनीको अभिभावकत्व ग्रहण गर्ने घोषणा गरेका हुन् ।
उनले यी बालबालिकाको शिक्षा र भविष्य निर्माणसम्मको सम्पूर्ण जिम्मेवारी पार्टी र आफूले बहन गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा दाहालले शैक्षिक पात्रो विमोचन गर्नुका साथै निन्दु राजी र अनिशा थरुनीलाई पाठ्य सामग्रीसहितको झोला हस्तान्तरण गरे ।
कार्यक्रममा विद्यालयका शिक्षक-शिक्षिका, विद्यार्थी, अभिभावक तथा पार्टीका नेता-कार्यकर्ताको उपस्थिति थियो । अध्यक्ष दाहालले अभिभावकविहीन तथा सहिद परिवारका बालबालिकाको शिक्षा र भविष्य निर्माणमा पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै सामाजिक न्याय र समानताको सवालमा माओवादी आन्दोलनले उठाएका मुद्दाहरू अझै सान्दर्भिक रहेको धारणा व्यक्त गरेका थिए ।


0 comment