काठमाडौं - राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको पक्षमा रहेका विभिन्न समूहहरू सोमबार एउटै मञ्चमा भेला भएका छन्। राजनीतिक दृष्टिकोण मिल्दोजुल्दो भए पनि लामो समयदेखि विभाजित यी समूहहरू पहिलो पटक संगठित रूपमा देखिएका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालले आयोजना गरेको कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलगायत विभिन्न दल तथा समूहका नेताहरूको सहभागिता थियो। कार्यक्रममा नेपाली कांग्रेस (बीपी) र शिवसेना नेपालका प्रतिनिधिहरू पनि सहभागी थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले देशले राष्ट्रवादी शक्ताहरूप्रति ठूलो आशा राखेको बताउँदै सबै पक्षलाई आग्रह र पूर्वाग्रह त्यागेर एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।उनले भने, ‘देशलाई निकास दिन आज सबै देशभक्त शक्तिहरूको एकताको खाँचो छ।’
संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीले लामो समयदेखि टुटफुटमा रहेका राजसंस्था समर्थक शक्तिहरू आवश्यकताअनुसार एकताबद्ध हुने क्रम बढ्दै गएको उल्लेख गरे। उनले संघीयता आवश्यक नभएको भन्दै यसको खारेजीको मागसमेत दोहोर्याए।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपालाई मुलुकको सबैभन्दा ठुलो राष्ट्रवादी शक्ति भन्दै सबै पक्षलाई एक ढिक्का भएर अघि बढ्न आग्रह गरे। उनले राप्रपा अध्यक्ष लिङ्देनले यो अभियानको नेतृत्व लिनुपर्नेमा जोड दिए।
थापाले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना केही महिनाभित्र सम्भव हुने दाबी गर्दै भने, ‘हामी सबै एक ढिक्का भएर अघि बढौँ। एक पटक प्रयास गरेर हेरौँ, सफल हुन्छौँ।’
मञ्चमा भएको उपस्थितिले लामो समयदेखि विभाजित देखिएका राजसंस्था समर्थक शक्तिहरूको एकताको संकेत देखिएको छ। अब यी शक्तिहरूको आगामी कदमले नेपालको राजनीतिक बहसमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।


0 comment