काठमाडौं - पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका अनियमितता र सम्भावित भ्रष्टाचारबारे अध्ययन गर्न गठित संसदीय उपसमितिले सार्वजनिक लेखा समितिमा प्रतिवेदन बुझाएको छ।
नयाँ बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा आज उपसमितिका संयोजक तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्।
प्रतिवेदन बुझ्दै सभापति पोखरेलले समितिको आगामी बैठकमा प्रतिवेदनमाथि विस्तृत छलफल गरिने जानकारी दिए। करिब एक वर्षअघि पोखरा विमानस्थलमा देखिएका अनियमितता, गुनासा र सम्भावित भ्रष्टाचारबारे छानबिन गर्न उपसमिति गठन गरिएको थियो।
उपसमितिले स्थलगत अनुगमन, सरोकारवाला निकायहरूसँग अन्तर्क्रिया, छलफल र आवश्यक कागजातको अध्ययनपछि ३८ पृष्ठको प्रतिवेदन तयार पारेको छ। प्रतिवेदनमा छवटा मुख्य निष्कर्ष र सुझाव समेटिएको संयोजक लिङ्देनले जानकारी दिए ।
उक्त उपसमितिमा सांसदहरू जनार्दन शर्मा, गोकुलप्रसाद बास्कोटा, अमनलाल मोदी, अर्जुननरसिंह केसी, प्रेमबहादुर आले, रामकृष्ण यादव, तारा लामा, देवप्रसाद तिमिल्सेना, दीपक गिरी र रुकमणि राना सदस्य रहेका छन्।


0 comment