काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले भारतको कस्मीरमा भएको हिन्दुलक्षित आतंककारी हमलाको निन्दा गरेका छन् ।
पार्टीको कार्यक्रमका सिलसिलामा दाङ पुगेका प्रवक्ता डा. महतले आइतबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा उक्त हमलाको निन्दा गरेका हुन् ।
उनले भने, ‘भारतको कस्मीरमा हिन्दुलाई लक्षित गरेर अत्यन्त दर्दनाक किसिमको आतंककारी हमला भयो, यो जघन्य अपराध हो । यो आतंकमा संलग्न जो-कोहीलाई कारबाही हुनुपर्छ ।’
उनले घटनामा नेपाली नागरिक मारिएकामा दु:ख व्यक्त पनि गरेका छन् । ‘यो आतंककारी हमलामा हाम्रो नेपाली नागरिकसमेत मारिएका छन् । उनीलगायत सम्पूर्ण मृतकप्रति हार्दिक श्रध्दाञ्जलि अर्पण र शोकाकुल परिवारजनमा गहिरो संवेदना प्रकट गर्दछु,’ उनले भने ।
साथै उनले आतंकवादका विरुद्ध विश्व समुदाय एक हुनुपर्ने धारणा पनि राखे । ‘यो घटनामा हामी भारत र भारतीय जनताको साथमा छौं,’ प्रवक्ता महतले भने, ‘यस्ताखाले आतंकवादका विरुद्ध सारा विश्व एक हुनुपर्छ ।’


0 comment