काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचणड) ले आन्दोलनरत शिक्षकका माग सम्बोधनका लागि आफ्नो पार्टीले सक्दो प्रयास गरिरहेको बताएका छन् ।

माओवादी केन्द्र सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलनको शनिबार उद्घाटन गर्दै उनले आफू प्रधानमन्त्री हुँदा शिक्षकसँग भएका सम्झौता कार्यान्वयनका निम्ति सक्दो प्रयास गरेको उल्लेख गरे ।

उनले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिक व्यवस्थालाई संस्थागत गर्न आवश्यक भएको बताए ।

उनले पछिल्लोपटक आफू प्रधामन्त्री हुँदा गर्न सुशासन, सामाजिक न्याय, अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरण र छिमेकीसँग नेपालको हितअनुकूल सहमति र सम्झौता गर्न लिइएका पहलको परिणामस्वरुप जनतामा माओवादीप्रतिको आशा र भरोसा जागेको दाबी गरे ।

आफ्नो पार्टीले सुरु गरेको हुलाकीमार्ग केन्द्रित अभियानले पनि माओवादी पार्टीप्रतिको आकर्षण बढ्दै गएको अध्यक्ष दाहालको भनाइ छ । उनले उक्त अभियानलाई भोलिदेखि पुनः सुरु गरी कञ्चनपुसम्म पुर्याउनेसमेत उल्लेख गरे ।

पूर्वप्रधानमन्त्री दाहालले आफ्नो पार्टीले सहिद, बेपत्ता परिवार, अपाङ्गता भएका व्यक्तिको पक्षमा केही काम गरेको भए पनि केही बाँकी रहेको बताए । पछिल्लोपटक आफ्नो पार्टीले झापादेखि कपिलवस्तुसम्म आइपुग्दा लाखौँ जनतासँग संवाद गरेको पनि उनले बताए ।