काठमाडौं - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतंकवादको कडा शब्दमा निन्दा गर्ने बताएकी छन् ।
भारतको कश्मीरको पहलगाममा भएको आतंककारी हमलामा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासद्वारा आज (शनिबार) दूतावासमा आयोजित सभामा उनले नेपाल सधैँ आतंकवादको विरुद्धमा र शान्तिको पक्षमा रहेको स्पष्ट गरिन् ।
‘नेपालले आतंकवादको सबै स्वरुप र अभिव्यक्तिहरूको कडा निन्दा गर्दछ । नेपाल जहाँ, जहिले र जुनसुकै उद्देश्यका लागि गरिने आतंकवादी क्रियाकलापको सदैव विपक्षमा उभिन्छ,’ उनले भनिन् । मन्त्री राणाले आतंकवादका विषयमा व्यवहार गर्दा कहिल्यै दोहोरो मापदण्ड अपनाउन नहुने बताउँदै नेपाल आफ्नो भूमि कुनै पनि आतंकवादी समूहले कुनै पनि कारण र कुनै पनि देश तथा जनताका विरुद्ध प्रयोग गर्न नसकोस् भन्ने पक्षमा दृढतापूर्वक प्रतिबद्ध रहेको पनि स्पष्ट गरिन् । त्यसैले कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको पनि नेपालले कडा शब्दमा निन्दा र भर्त्सना गरेको राणाले बताइन् ।
उनले यस दुःखको घडीमा भारत सरकार र भारतीय जनताको पक्षमा नेपाल उभिएको बताइन् । नेपाल आतंकवाद विरुद्धको लडाइँमा भारतसँग काँधमा काँध मिलाएर उभिएको उनले बताइन् । नेपाल र भारतबीच गहिरो सम्बन्ध रहेको स्मरण गर्दै उनले यो सम्बन्ध केवल कूटनीतिको विषय मात्र नभएर सदियौँदेखिको साझा इतिहास, संस्कृति र सहकार्य पनि रहेको बताइन् ।
‘हाम्रा खुला सिमानाहरू एकापसका विश्वासका प्रतीक हुन् र हाम्रा पारिवारिक सम्बन्धहरूले आपसमा नाता पनि गाँस्दछन् । हामी सधैँ खुसी या संकटको समयमा एकसाथ उभिएका छौँ । भूकम्पले नेपाललाई तहसनहस पार्दा सबैभन्दा पहिला सहयोगको हात अगाडि बढाएको भारतले नै हो,’ उनले भनिन् ।
मन्त्री राणाले पहलगाम त्रासदीको सिकार भएका नेपाली युवा सुदीप न्यौपानेको शव र अन्य प्रभावितहरुलाई नेपाल ल्याउन सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद पनि दिइन् । त्यस अवसरमा राणाले आतंकवादी हमलामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुका शोकमा रहेका परिवारजनमा समवेदना प्रकट गरेकी थिइन् ।


0 comment