काठमाडौं - सरकारी र निजी अस्पतालका डाक्टरहरू हड्तालमा उत्रिएपछि उपचारका लागि वीरगन्जमा अस्पतालमा पुगेका बिरामीहरूको बिजोग भएको छ।
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी प्रतिष्ठान सरह नै निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा डाक्टरहरू शुक्रबारदेखि अस्पताल र क्लिनिकसमेत बन्द गरेर अनिश्चितकालीन हड्तालमा उत्रिएका हुन्।
शुक्रबार बिहान साढे ११ बजेतिर वीरगन्जको एक मात्र सरकारी अस्पताल नारायणी अस्पतालमा पुग्दा बिरामीहरू डाक्टर खोज्दै भौतारिँदै थिए। कतिपयले डाक्टरहरू नभेटिएकोमा पिडा सहितको आक्रोश पोख्दै थिए।
नातिलाई पखाला लागेपछि उपचारका लागि नारायणी अस्पतालमा पुगेका वीरगन्ज–२६ अठराहका नेमिलाल साहले डाक्टर नै नभेटिएपछि पिडा पोख्दै भने ,‘निजी क्लिनिक पनि बन्द छन्। अब कहाँ लाने ? मेरो दिमागले काम नै गरिराखेको छैन।’ उपचार सेवा नै बहिष्कार गरेर डाक्टरहरू हड्तालमा उत्रिनु जायज नभएको उनले बताए।
डाक्टर नभेटिएपछि निराश हुँदै फर्कन लागेको अवस्थामा अस्पताल परिसरमै भेटिएका पर्साको पोखरिया नगरपालिका–६ का सुमित कुमार गुप्ताको पिडा पनि उस्तै थियो। डाक्टर नभेटिएपछि रुन्चे अनुहार लगाउँदै उनले भने, ‘श्रीमतीलाई हिजो लिएर आएका थिए। डाक्टरले रगत, पिसाब र एक्सरेको जाँच लेखिदिएपछि हिजै सबै जाँच गराएँ। आज रिपोर्ट लिएर आए , तर कोही डाक्टर नै भेटिदैनन्। अब म कहाँ जाने ? कसलाई देखाउने यो रिपोर्ट ?’
अकस्मात् खुट्टाको भागमा प्यारालाइसिसको समस्या देखिएपछि शुक्रबार नारायणी अस्पतालमा पुगेका पर्साको सन्ठी गाउँका दलित युवा वीरेन्द्र राम भने बहिरङ्ग सेवा भवन अगाडि डाक्टरलाई कुरेर बसेको अवस्थामा भेटिए। उनले भने,‘अस्पतालमा आउँदा डाक्टरहरू हड्तालमा छन् भन्ने थाहा भयो। तैपनि कोही डाक्टर भेटिहाल्छन् कि भनेर कुरेर बसेको छु।’ आफू गरिब भएकाले निजी अस्पताल वा क्लिनिकमा जान असमर्थ रहेको रामले सुनाए।
वीरगन्जको नारायणी अस्पतालमा उपचार राम्रो हुन्छ भनेर सुनेका भारतको बिहार राज्यको घोडासहनका प्रमोद चौधरीले पेटको रोगको उपचारका लागि आफू बिहारबाट आएको बताए। तर डाक्टर नभेटिएपछि आक्रोश पोख्दै उनले भने,‘हड्ताल गर्ने नै हो मिडिया र सोसल मिडियाबाट पहिल्यै जानकारी गराएर मात्रै डाक्टरहरूले आफ्नो आन्दोलन सुरु गर्नु पर्थ्यो। अचानक कुनै जानकारी नदिई डाक्टरहरू यसरी हड्तालमा उत्रिँदा हामीजस्ता टाढाका मान्छेले धेरै दुःख पायौं। डाक्टरहरूको यो पारा ठीक भएन।’
नारायणी अस्पतालमा पर्सा, बारा सहितका ४ जिल्ला र छिमेकी भारतको बिहारबाट गरी दैनिक ९ सय देखि १ हजार बिरामीले बहिरङ्ग (ओपीडी) सेवा मात्रै लिँदै आएका छन्। तर शुक्रबारदेखि डाक्टरहरू हड्तालमा उत्रिएपछि उपचारका लागि अस्पतालमा पुगेका सयौं बिरामीहरू डाक्टर नै नभेटिएपछि अलपत्र अवस्थामा भेटिए।
नारायणी अस्पतालका सूचना अधिकारी तथा वरिष्ठ चिकित्सक डाक्टर उदयनारायण सिंहले भने अरू सबै सेवा ठप्प गरिए पनि आकस्मिक सेवा भने सुचारु नै राखिएको बताए। उनले भने, ‘ओपीडी लगायतका सेवा बन्द गरिए पनि इमर्जेन्सी सेवा दिइरहेका छौं। साह्रै समस्यामा परेका बिरामीहरूलाई हामीले इमर्जेन्सी वार्डमा बोलाएर उपचार गरिरहेका छौं।’
चिकित्सकहरू रहरले नभई बाध्यताले आन्दोलनमा उत्रिनु परेको सिंहले बताए। उनले भने, ‘बिरामीलाई उपचारबाट वञ्चित गराएर दुःख दिनु हाम्रो नियत हुँदै होइन। डाक्टर नभेटिएर बिरामीहरू फर्केको देख्दा हामीलाई पनि पिडा महसुस भइरहेको छ। तर के गर्नु ? यो देशको प्रधानमन्त्री, मन्त्रीहरू नै अनुदार भएपछि डाक्टरहरू आफ्नो हक अधिकारका लागि हड्तालमा उत्रिन बाध्य भएका हुन्।’
सरकारले सुनिश्चित गरेको निर्वाह भत्ता कार्यान्वयन नभएको भन्दै तीन हप्तादेखि आवासीय चिकित्सकहरू सडक आन्दोलनमा छन्। २५ माघमा चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई ४८ हजार रुपैयाँ (सरकारी आठौं तह सरह) सेवासुविधा दिनुपर्ने निर्णय गरेको थियो। तर निजी मेडिकल कलेजका सञ्चालकहरूले साढे दुई महिना बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन गरेका छैनन्। अहिले निर्वाह भत्ताबापत आवासीय चिकित्सकले मासिक १९ हजार ८०० रुपैयाँ मात्रै पाइरहेका छन्। यसलाई बढाएर मासिक ४८ हजार रुपैयाँ पाउनुपर्ने माग उनीहरूको छ। सरकारी अस्पतालमा काम गर्ने आवासीय चिकित्सकले भने मासिक ४८ हजार रुपैयाँ नै पाउँछन्।


0 comment