काठमाडौं - प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको चिन्ता नगर्न आग्रह गरेका छन्। एमालेको युथ सेलिब्रेसन समारोहमा बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनावको बारेमा चिन्ता गर्न आग्रह गरेका हुन्।
उनले एमालेले सरकारभन्दा पनि चुनावको चिन्ता गर्ने स्पष्ट पारे। 'सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन। चुनावको बारेमा चिन्ता गर्नुपर्छ। एमालेले सरकार बनाउन, सरकार बचाउन भनेर कराएको छैन। एमालेले सधैं चुनाव हेरेको हुन्छ। हामीले ७० को चुनाव भन्यौं। ७४ र ७९ को चुनाव भन्यौं। अहिले मिसन ८४ भनिरहेका छौं। ढुक्क भएर मिसन ८४ मा लाग्नुस्। सरकार चलाउने र नेतृत्व गर्ने कुरा संसदको बनावटअनुसार ठीक ढंगले एमालेले गर्नेछ। मिसन ८४ एमालेलाई निर्णायक शक्तिमा लैजाने मिसन हो,' उनले भने।
उनले एमालेको राष्ट्रवादी अडान र दृष्टिकोणको कारण राष्ट्र विरोधी तत्त्वहरू एमालेविरुद्ध खनिएको बताए। त्यस्ता शक्तिले एमालेविरुद्ध हरेक दिन भ्रम फिँजाउने गरेको उनको भनाइ छ। उनले एमाले र कांग्रेसको सरकार देशमा स्थिरता दिने गरी एउटा लक्षका साथ बनेको भन्दै सरकारतिर नभइ चुनावतिर ध्यान दिन सुझाव दिए।
प्रधानमन्त्री ओलीले देशमा अराजकता मच्चाउने र विभाजन गर्ने तत्त्वसँग सचेत हुन पनि आग्रह गरे। लोकतन्त्रमा पनि केही गलत प्रवृत्ति देखाएका बताउँदै उनले त्यसबाट देश केही समय अलमलमा परेको बताए। अब भ्रममा नभइ स्पष्ट दृष्टिकोणका साथ देश अघि बढ्नु पर्नेमा ओलीले जोड दिए।


0 comment