काठमाडौं - उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले इन्जिनियरलाई राष्ट्रको आवश्यकता र जनताको मागअनुसारको विकास, निर्माणमा जोड दिनुपर्ने भन्दै सोहीअनुसार काम गर्न आग्रह गरेका छन् ।

सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स एसोसिएसन (सिडेन) को आज (बिहीबार) ललितपुरमा आयोजित दोस्रो राष्ट्रिय सम्मेलनमा सिंहले निर्माण हुने संरचना र विकासका आयोजनासम्बन्धी योजना बनाउँदा राष्ट्रिय र जनताका आवश्यकता बुझेर सकारात्मक परिवर्तनमा लाग्नुपर्ने बताए । उनले नवप्रवर्तन र प्रविधिमा आधारित योजना कार्यान्वयन गरेमा उल्लेख्य प्रतिफल आउने धारणा राखे ।

‘लोकतान्त्रिक मूल्य, मान्यताअनुसार शासन प्रणाली स्थापित नभएसम्म नेपालीको भविष्य सुनिश्चित हुँदैन भनेर २०४६ र ०६२/६३ को परिवर्तन ल्याएका हौं । प्राप्त अधिकारलाई सुरक्षित गर्दै राजनीतिक स्थायित्व र स्थिरताका लागि आर्थिक समृद्धितर्फ सबैले ध्यान दिनु जरुरी छ र यसका सबै सबै राजनीतिक दलले आ-आफ्नो कमजोरी सुधार गर्दै अगाडि बढ्नुपर्छ, कानुनी रूपमा भएका समस्या छलफलबाट समाधान गरौँ । प्राप्त गणतन्त्रको अधिकारलाई सुरक्षित गर्दै दिगो विकास र जिम्मेवारीपूर्ण कामका लागि ध्यान दिनुपर्छ,’ उनले भने ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गुणस्तरीय पूर्वाधार निर्माणमा सरोकार भएका सबैले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । यसका लागि समयसापेक्ष कानुन बनाउँदै समस्या समाधान गर्नुपर्ने भन्दै सरकार आवश्यकताका आधारमा छलफलबाट बाधक भएका कानुन संशोधन गर्न तयार रहेको बताए ।

‘मुलुकको आवश्यकतालाई मूल्यांकन गरेर काम गर्छौ, समृद्धि हासिल गर्न १५ हजार मेगावाट विद्युत् भारतमा व्यापार गर्ने बाटो खुलेको छ, बूढीगण्डकीको सुरुवात गर्दा १७ हजार रोजगारी सिर्जना हुन्छ । यसलाई महसुस गरेर हामीले काम गरिरहेका छौँ,’ उनले भने ।

सिडेनका केन्द्रीय अध्यक्ष सुवासचन्द्र बरालले विकास निर्माणसँग जोडिएका विषयमा आधारित रहेर दिगो विकासका लागि सबैले सहकार्य गर्नुपर्ने बताए । यो कार्यक्रमले दिगो विकासका क्षेत्रमा काम गर्ने सबैलाई सकारात्मक ऊर्जा प्रदान गर्ने उनले विश्वास व्यक्त गरे ।

उनले दिगो विकासका लागि राजनीतिक प्रतिबद्धता आवश्यक रहेको धारणा राखे । बरालले सिडेनको यो सम्मेलनले यस क्षेत्रमा रहेका चुनौतीलाई समाधान गर्न सहयोग पुग्ने बताए ।

सिडेनका अध्यक्ष एवं इन्जिनियर लक्ष्मण केसीले यस क्षेत्रमा भएका प्रशस्त सम्भावनाको छलफल गरेर प्रविधिको विकासअनुरुप दिगो विकासमा रहेका बाधा हटाउन नीतिगत व्यवस्थाका लागि सरकार र संसद्लाई सुझाव दिन सम्मेलन आयोजना गरिएको बताए ।

सिडेनका महासचिव एवं इन्जिनियर थमनबहादुर खड्काले संस्थामा हाल नौ हजार ६४६ जना इन्जिनियर सदस्य रहेका जानकारी गराए । उनका अनुसार यीमध्ये बागमतीमा मात्रै ६ हजार ७०० सयभन्दा बढी छन् ।