काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार राजनीतिक वैधताको संकटमा फसेको मूल्यांकन गर्दै सत्ता समीकरण पुनःसंयोजनको गृहकार्यमा माओवादी केन्द्र जुटेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नयाँ सरकार गठनको सन्दर्भमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग गम्भीर छलफल हुने संकेत गरेका छन् ।
संसदीय दलको आज (बिहीबार) को बैठकमा अध्यक्ष दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा विदेशबाट फर्किएपछि छलफल अगाडि बढाउने बताएका छन् । बैठकमा सहभागी सांसद सुदन किराँतीका अनुसार देउवा स्वास्थ्य उपचारका लागि विदेश जानुअघि प्रचण्डको छोटो भेट भएको थियो ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको सरकार जनअपेक्षाअनुसार नचलेको र संवादको ठाउँ नै बन्द भएपछि नयाँ सत्ता संरचनाको खाँचो औंल्याएका छन् । बैठकमा उनले कांग्रेससँगको सम्भावित गठबन्धनबारे स्पष्ट विवरण नदिएपनि आवश्यक तयारी भइरहेको जनाएका थिए ।
सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रले सत्ता समीकरणमा फेरबदलका लागि कांग्रेससँगको सम्भावित तालमेललाई प्राथमिकता दिने संकेत दिएको छ ।


0 comment