काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम सेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले शिष्टचार भेट गरेका छन् ।

मंगलबारदेखि नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका नाह्यानले राष्ट्रपति भवन शीतलनिवासमा बुधबार भेट गरेका हुन् । भेटमा राष्ट्रपति पौडेलले विश्वका सबै देशहरूलाई जलवायु परिवर्तनविरुद्धको कार्यलाई तीव्र बनाउन आग्रह गरे । उनले स्रोत-साधन आवश्यक भएका देशहरूलाई जलवायु परिवर्तन र यसबाट सिर्जित क्षतिपूर्तिका लागि प्राविधिक र आर्थिक सहयोग प्रदान गर्नसमेत अनुरोध गरे ।

विश्व मञ्चहरुमा जलवायु न्यायका लागि आफूले आवाज उठाउँदै आएको र नेपाल जलवायु परिवर्तनको मारमा परिरहेको बताउँदै पौडेलले नेपाल र संयुक्त अरब इमिरेट्सले पहाडी र तटीय मुलुकहरूको रूपमा जलवायु परिवर्तनको प्रतिकूल प्रभावको साझा जोखिमको सामना गरिरहेको र जलवायु परिवर्तनबाट सिर्जित विपदले हाम्रो दुर्लभ स्रोत-साधनलाई प्रतिकूलता प्रदान गरेको उल्लेख गरे ।

राष्ट्रपति पौडेलले यूएईमा ४ लाखभन्दा बढी नेपालीलाई रोजगारीको अवसर प्रदान गरेकामा धन्यवाद पनि दिए । ‘संयुक्त अरब इमिरेट्स ४ लाखभन्दा बढी नेपालीको लागि दोस्रो घरका रुपमा रहेको छ,’ राष्ट्रपति पौडेलले भने, ‘उनीहरूले दुई देशबीच जनस्तरको सम्बन्ध विस्तारका लागि जीवित पुलका रूपमा पनि काम गरिरहेका छन् । तपाईंको सुन्दर देशमा यति ठुलो संख्यामा नेपालीलाई रोजगारीको अवसर प्रदान गर्नुभएकोमा धेरै-धेरै धन्यवाद ।’

उनले नेपालको चौथो ठुलो व्यापारिक साझेदार देश यूएई भएको उल्लेख पनि गरे । ‘हाम्रो द्विपक्षीय व्यापार अभिवृद्धि गर्न सकिने ठुलो सम्भावनामा निजी क्षेत्रको संलग्नतालाई हामीहरुले प्रोत्साहित गर्नुपर्छ । संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरूलाई कृषि, खानी, जलविद्युत्, पूर्वाधार विकास, पर्यटन र आतिथ्य, सूचना प्रविधि र सेवा क्षेत्र जस्ता सम्भाव्य क्षेत्रहरूमा लगानी गर्न प्रोत्साहित गरिदिन अनुरोध गर्दछु,’ उनले भने ।

उनले गत महिना रमजानको पवित्र महिना र इदको पर्वको पावन अवसरमा १८ नेपाली कैदीलाई आममाफी दिने र रिहा गर्ने संयुक्त अरब इमिरेट्सको मैत्रीपूर्ण कदमको उच्च कदर गर्दै उक्त मानवीय कदमका लागि कृतज्ञता पनि व्यक्त गरे ।

त्यस अवसरमा यूएईका उपप्रधानमन्त्री नाह्यानले जलवायु न्यायका सम्बन्धमा राष्ट्रपति पौडेलको भनाइको उच्च कदर गर्दै तथा ती भावनालाई मार्गदर्शनका रुपमा लिने बताएका थिए । ‘जलवायु परिवर्तनका क्षेत्रका कार्यलाई कठिनाइ भइरहेको छ । तर यो मानवसिर्जित समस्या हो र हामीले भावि सन्ततीलाई सुन्दर विश्व हस्तान्तरण गर्नैपर्छ,’ नाह्यानको भनाइ उदृत गर्दै राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

उपप्रधानमन्त्री नाह्यान नेपाल र यूएईबीच सहकार्यका धेरै सम्भावना रहेकाले यसका लागि प्रयत्नहरू जारी राख्नुपर्ने धारणा पनि राखे । ‘नेपाल र यूएईबीचको सम्बन्धलाई उचाइमा पुर्‍याउने र प्रगाढ बनाउने प्रचुर सम्भावना छ । यसका लागि म यूएई सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने ।