काठमाडौं - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणमा संलग्नलाई कारवाही गरिने स्पष्ट पारेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको टेलिफोन वार्तामा मोदीले हमलामा संलग्न अपराधीहरूलाई कानुनी कठघरामा ल्याउने भारतको दृढता व्यक्त गरेका हुन्। भारतीय विदेश मन्त्रालयका अनुसार मोदीले आतंकवादविरुद्धको लडाइँमा नेपाल र भारत एकसाथ उभिएको पनि बताएका छन्।

‘प्रधानमन्त्री मोदीले एक नेपाली नागरिकको मृत्यु भएकोप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ,’भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बताएका छन्।

प्रधानमन्त्री ओलीले पनि सामाजिक सञ्जाल  ट्विटरमा मोदीसँग आतंकवादी हमलाबारे कुराकानी भएको पुष्टि गरेका छन्।

‘मैले आतंकवादी आक्रमणमा ज्यान गुमाएका सबैप्रति समवेदना व्यक्त गर्दै यस्ता जघन्य घटनामा नेपाल भारतको साथमा छ भनेर उल्लेख गरेको छु,’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘ नेपाली नागरिकको निधनमा समवेदना प्रकट गरेकोमा प्रधानमन्त्री मोदीलाई धन्यवाद पनि दिएको छु।’

मंगलबार जम्मु कश्मिरको पहलगामस्थित पर्यटकीय क्षेत्रमा भएको आतंकवादी आक्रमणमा परी २६ जनाको मृत्यु भएको थियो। उक्त आक्रमणमा नेपाल बुटवलका सुदीप न्यौपानेको निधन भएको थियो भने उनकी आमा समेत सख्त घाइते भएकी छन्।

भारतमा रहेका नेपाली समुदाय र सिंगो नेपालका लागि पीडादायी बनेको यस घटनाको छानबिन गरी दोषीमाथि कडा कारवाही गरिने भारत सरकारको आश्वासनपछि पीडित परिवारलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।