काठमाडौं - नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति विश्वास हराउँदै गएको दाबी गरेको छ।
पेरिसडाँडामा बुधबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री ओलीको वर्तमान व्यवहारलाई ‘निभ्दै गरेको बत्तीजस्तो’भन्दै कटाक्ष गरे। उनले भने, ‘आफ्नो गुम्न लागेको साखलाई परालको त्यान्द्रोले जोगाउन सकिन्छ कि भनेर प्रधानमन्त्री प्रयासरत देखिन्छन्। तर, त्यो प्रयास हतास मानसिकताको उपज हो।’
प्रवक्ता सापकोटाले प्रधानमन्त्री ओली अहिले चारैतिर रिस प्रकट गरिरहेको आरोप पनि लगाए। ‘प्रधानमन्त्री अहिले आफ्नै पार्टीका नेतासँग, कर्मचारीहरूसँग, जोसँग पनि असन्तुष्टि पोखिरहनुभएको छ,’सापकोटाले भने, ‘उहाँले नेतृत्वप्रति आत्मविश्वास गुमाइसक्नुभएको देखिन्छ।’
प्रधानमन्त्री ओलीले अब आफ्ना आलोचक मात्रै होइन, आफ्नै सहकर्मीहरूसँग पनि सम्बन्ध चिसो बनाइरहेको सापकोटाको भनाइ छ। सापकोटाको यस्तो टिप्पणी प्रधानमन्त्रीको पछिल्ला सार्वजनिक अभिव्यक्तिहरू र आन्तरिक पार्टी कलहबीच आएको हो।


0 comment