काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी स्याङ्जाले जिल्ला प्रशासन कार्यालयमार्फत मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा ज्ञापनपत्र पठाएको छ।
चैत १५ गते तीनकुने, कोटेश्वर क्षेत्रमा भएको प्रदर्शनलाई हिंसात्मक बनाउन राज्यपक्षबाट भएको क्रियाकलापप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले गम्भीर दुःख व्यक्त गरेको जनाउँदै ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालमार्फत प्रधानमन्त्री कार्यालयमा प्रेषित गर्ने गरी बुझाइएको ज्ञापनपत्रमा प्रदर्शनकारीहरूले आफ्ना सभा सुरु गर्ने क्रममा राष्ट्रिय गान गाउन सुरु गरेको बेला प्रशासनले कार्यक्रमस्थलमा निर्मित मञ्चलाई लक्षित गदै सर्वसाधारणको घरको छतबाट अन्धाधुन्ध म्याद सकिएका अश्रु ग्यासका सेलहरूको वर्षा गर्नु, सविन महर्जनलाई ताकेर गोलीहानी हत्या गरिनु, आँखै अगाडि घर आगलागी हुँदा घरभित्र मानिस रहेको जानकारी पाउँदा पनि नियन्त्रण र उद्धार गर्न नसकेर पत्रकार सुरेश रजकको ज्यान जानु, कार्यक्रमसँग कुनै सम्बन्ध नरहेका र कार्यक्रम स्थलबाट धेरै टाढा रहेका रेबिका खत्री र उनका दाइलाई गोली हान्नु जस्ता कार्यको भर्त्सना गरिएको उल्लेख छ।
राप्रपाका आमन्त्रित केन्द्रीय सदस्य लालगोपाल अर्यालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भविष्यमा यस प्रकारका घटना नदोहोर्याउन उक्त दिनको घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग गरेको छ।
सोही दिन सहभागी भएकामध्ये राप्रपा नेता रवीन्द्र मिश्र, धवलशमशेर राणा लगायतलाई राज्यविरुद्धको अपराध जस्तो गम्भीर प्रकृतिको मुद्दा किन लगाइयो भन्ने प्रश्नसमेत गरिएको छ।


0 comment