काठमाडौं - प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो उमेर र स्वास्थ्यबारे कसैले चिन्ता लिनु नपर्ने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको ७६औं स्थापना दिवसका अवसरमा आज (मंगलबार) आयोजित कार्यक्रममा ओलीले आफू अहिले बूढो नभएको र अस्वस्थ्य नरहेको स्पष्ट गरे । ‘कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ । अहिले म बिरामी छैन । अबको २०-२५ वर्षपछि बूढो हुन्छु । कसैले हतार गरेर हुँदैन । मलाई मेरो उमेर र स्वास्थ्यका कुरा गर्नु पर्दैन । केपी ओलीविनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कसैले एमालेविनाको देशको पनि कल्पना गरेका छन् । केपी ओलीविनाको एमाले किन खोजेको होला ? तिनको मनसाय राम्रो भए त म सरक्क छोडिदिने थिएँ । एमालेविनाको नेपाल हेरौँला, मिसन २०८४ मा, हामी झन् बलियो भएर आउनेछौँ ।’
अध्यक्ष ओलीले एमाले अस्तित्वका निम्तिको लडाइमा नभई विजयको यात्रामा रहेको जनाउँदै मिसन २०८४ बाट निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण भएर आउने उद्घोष गरे ।
गणतन्त्रलाई नमुनाका रुपमा स्थापित गर्दै विकास र सुशासन तथा समृद्ध नेपाली सुखी नेपालीको महान उद्देश्यप्रतिको नेतृत्वको दृढता र सक्रियताले पार्टी र आन्दोलनलाई कमजोर हुन नसक्ने पुष्टि भइसकेको उल्लेख गर्दै अध्यक्ष ओलीले राणा शासन, पञ्चायत र निरङ्कुश राजतन्त्रसँग जुध्नुका साथै सबै प्रकारका हमला हुँदा प्रमुख शक्तिका रुपमा स्थापित भएको पार्टी एमाले भएकाले कुनै पनि प्रकारको दुविधा मनमा नलिन र आत्मविश्वास लिन पङ्तिलाई लिन आग्रह गर्दछु ।
प्रधानमन्त्री ओलीले समाज बिगार्ने, राष्ट्रलाई नोक्सान गर्ने शक्तिहरुले कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन षड्यन्त्रकारीहरुबाट परिचालित भएर दुईतिहाइको अवस्थामा पुगेको पार्टीलाई विभाजन गराए पनि आफूहरुले आन्दोलनलाई पुनः गठित बनाउँदै जनताको सबैभन्दा लोकप्रिय पार्टीमा स्थापित गराएको दाबी गरे ।
‘हामी विकास र सुशासनको बाटोमा अगाडि बढेका छौं । बिग्रिएको स्थितिलाई सपार्न सजिलो छैन तर हामी गर्न खोजिरहेका छौं । हामी जनतालाई बलियो बनाउन सरकारलाई बलियो बनाउन चाहन्छौं । आगामी नयाँ बजेट, नीति कार्यक्रम त्यसरुपमा ल्याउँदै छौं,’ उनले भने, ‘हामीले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र र संविधान नमान्नेहरुलाई एक्काइसौं शताब्दीमा श्रीपेच लगाउने र जनतालाई हुकुमी शासन दिने राजा चाहिएको छ । जनताले ल्याएको लोकतन्त्र नमान्ने, संविधान नमान्ने, संवैधानिक राजतन्त्र खोज्ने ? राजतन्त्रको भुलभुलैमा नभुलौँ । नयाँ शक्ति भन्नेहरुको तमासा पनि देखिइसकिएको छ । त्यसकारण हामी दृढताका साथ न्याय र समानतासहितको राष्ट्र निर्माणमा अग्रसर होऔँ ।’
प्रधानमन्त्री ओलीले हालै आफ्नो थाइल्यान्ड भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग लामै र बहुत राम्रो कुराकानी भएको दाबी गर्दै नेपालको कुनै पनि मुलुकसँग शत्रुता नरहेको र सबैसँग मित्रता रहेको स्पष्ट गरे ।


0 comment