काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनकारी र पुनरुत्थानवादी शक्तिहरूले जनताका उपलब्धिहरू खोसेर सामन्ती निरंकुशतातर्फ लैजाने दुस्साहस गरिरहेको बताएका छन्। विश्व सर्वहारा वर्गका महान् नेता भ्लादिमिर इलिच लेनिनको जन्मजयन्ती तथा नेकपा स्थापनाको ऐतिहासिक दिनको अवसरमा शुभकामना दिँदै उनले उपलब्धिहरूको रक्षा र विकासमार्फत समाजवादको यात्रामा एकजुट भई अघि बढ्न अपील गरेका हुन्।
मानव जातिले भोगिरहेको वर्तमान संकट क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्छ भन्ने कुरा पुनः पुष्टि भइरहेको उनको दाबी छ। ‘महान् लेनिनले मानव सभ्यताको इतिहासमै पहिलो पटक श्रमजीवी वर्गको नेतृत्वमा समाजवादी राज्यको स्थापना गरी शोषणमुक्त र न्यायपूर्ण समाज सम्भव छ भन्ने तथ्यलाई प्रमाणित गर्दै क्रान्तिको मार्क्सवादी सिद्धान्तको विकास गर्नुभयो। पूँजीवादले फेरि असमानता, युद्ध, बेरोजगारी, सांस्कृतिक क्षय र वातावरणीय संकट निम्त्याइरहेको आजको विश्वमा लेनिनको विचार र उहाँले देखाएको बाटो अझ सान्दर्भिक र आवश्यक बनेको छ।’ उनले भने, ‘मानव जातिले भोगिरहेको वर्तमान संकट क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्छ भन्ने कुरा पुनः पुष्टि भइरहेको छ।सामन्तवाद र साम्राज्यवादविरुद्ध जनवादी क्रान्ति हुँदै समाजवाद र साम्यवाद स्थापनाको लक्ष्य राखेर नेपालमा वि.सं. २००६ साल (१९४९ अप्रिल २२) मा कम्युनिस्ट पार्टीको स्थापना भएको हो।’
देखिएका चुनौतीको सामना गर्दै समाजवादतर्फको यात्रामा अघि बढ्न सकिने उनको भनाई छ। ‘कम्युनिस्ट आन्दोलनको सुरुआतसँगै समाजको पीँधमा रहेका जाति, वर्ग र समुदायका मुद्दाहरू मुखरित भई उत्पीडित जनताको लामो संघर्ष, त्याग र बलिदानका कारण आज हामी सामन्ती वंशवादमा आधारित राजतन्त्रको अन्त्य गर्दै समावेशी, धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न सफल भएका छौं।’ उनले भने, ‘यतिखेर एक थरी प्रतिगमनकारी र पुनरुत्थानवादी शक्तिहरूले जनताका उपलब्धिहरू खोसेर नेपाली समाजलाई फेरि सामन्ती निरंकुशतातर्फ लैजाने दुस्साहस गर्दैछन्। तर, यो उनीहरूको दिवास्वप्न मात्रै हो, किनभने संघर्षको जगमा प्राप्त उपलब्धिहरू नेपाली जनताले युगौँदेखि साँच्दै आएका सपना हुन्, जसको रक्षा र थप विकासबाट मात्रै हाम्रासामु देखिएका चुनौतीको सामना गर्दै समाजवादतर्फको यात्रामा अघि बढ्न सकिन्छ। परिवर्तनका पक्षधरहरूका लागि यो नै आजको प्रमुख राष्ट्रिय जिम्मेवारी समेत बनेको छ।’


0 comment