काठमाडौं - प्रधानमन्त्री केपी ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन आन्दोलनरत शिक्षकहरुलाई आह्वान गरेका छन् ।

नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११औँ राष्ट्रिय सम्मेलनको आज (सोमबार) कीर्तिपुरमा उद्घाटन गर्दै ओलीले अहिलेको सरकार दमनकारी नभई लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागलाई सम्बोधन गरिने बताए । ‘विद्यालय शिक्षा विधेयक संसदीय समितिमा विचाराधीन छ । ऐन ल्याउन भनेर यत्रा शिक्षकहरु सकडमा आन्दोलनमा आउनु पर्दैन । भर्ना अभियान सुरु भइसकेको छ । कृपया जानुस्, विद्यालयमा गएर भर्ना गराउनुस् । एसईईको उत्तरपुस्तिका परीक्षण गर्नुस् । एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल गराइएको भन्ने मेरो भनाइले चित्त नदुखाउनुस् । गुणस्तरीय शिक्षाका लागि लाग्नुस्,’ उनले भने, ‘शिक्षकहरुको आन्दोलनले विद्यार्थी र अभिभावकलाई घाटा छ, शिक्षकहरुलाई लाभ छैन । त्यसकारण अविलम्ब वार्तामा बसेर आन्दोलन अन्त्य गर्नुस् । प्रतिगामी तत्त्वहरु सल्बनाएका बेला तपाईंहरुले आन्दोलन गर्ने उपयुक्त समय पनि यो होइन ।’

समृद्धि र अग्रगतिका लागि बौद्धिक सक्रियता देखाउन प्राध्यापकहरुलाई आग्रह
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रतिगामी, उग्रवामपन्थी, विकृति र विसंगतियुक्त प्रवृत्तिहरुविरुद्ध प्राध्यापकहरुले बौद्धिकरुपमा सक्रियता देखाउनुपर्ने बताए ।

मुलुकमा प्रकट भइरहेका प्रतिगामी, उग्रवामपन्थी, विकृति र विसंगतियुक्त प्रवृत्तिहरुप्रति सजग हुँदै आफ्नो बौद्धिक क्षेत्रबाट विद्यमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ विचार निर्माणमा लागि पर्न आह्वान गरेका हुन् ।

‘प्राध्यापकजस्तो सचेत वर्गले लोकतन्त्र र तानाशाहीका बीचको भेद छुट्याउन नसक्ने भन्ने कुरै हुँदैन । कोही पनि सचेत नागरिक आफ्नो समाज कस्तो बनाउने भन्ने सन्दर्भमा तटस्थ रहिरहन सक्दैन । लोकतन्त्रको प्रयोगबाट मुलुकको समृद्धिका लागि दक्ष जनशक्ति निर्माण गर्नुपर्ने छ,’ उनले भने, ‘हामीले मिसन २०८४ भनेको छौँ । त्यो मिसन भनको अराजकतावादी, प्रतिगामी, असभ्यता र देशलाई अँध्यारो यात्रातर्फ फर्काउने प्रयासविरुद्धको मिसन हो । यसमा तपाईंहरुले लेखेर-बोलेर बौद्धिकताको प्रर्दशन गरी साथ दिनुपर्छ । विद्वत् समुदायका रुपमा समाजमा आफ्नो पहिचान दिनुपर्छ । देशको विकास तब हुन्छ, जब नागरिकहरु स्वस्थ्य, शिक्षित र दक्ष हुन्छन् । नागरिकहरु स्वस्थ्य, शिक्षित र दक्ष बनाउने हाम्रो प्राथमिकता हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले शिक्षालाई हरेकको पहुँचभित्र कसरी पुर्याउने र गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भनेर हामीले सोच्न आग्रह गर्दै कसरी ज्ञानलाई आर्जन, संकलन र सम्प्रेषण गर्छौं भन्ने अति महत्त्वको विषयमा मनन् गर्न सम्झाए ।

उनले यस सङ्गठनको जन्म नै अधिकार प्राप्तिको आन्दोलनका क्रममा भएकाले आगामी दिनसमा उच्चशिक्षा क्षेत्रमा गरिनुपर्ने सुधारका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आग्रहसमेत गरे ।