काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले निरंकुशता कायम गर्ने उद्देश्यले गरिने कुनै पनि क्रियाकलापलाई आन्दोलन नभई अपराधको रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

उनले विराटनगरमा आइतबार आयोजित एक समारोहमा सम्बोधन गर्दै राजनीतिक दलहरूमा रोग देखा परेको र त्यसको उपचारका लागि गहन समीक्षा आवश्यक रहेको उल्लेख गरे ।

संविधान जारी गर्दा दलहरूबीच दश वर्षपछि समिक्षा गर्ने सहमति भएको स्मरण गराउँदै उनले त्यसको समय अब आएको बताए । तथापि, संविधानको समीक्षा गर्दा पछाडि फर्किन नहुने स्पष्ट गरे ।

‘संविधानको समीक्षा गर्दा एउटा शर्त रहन्छ । हामी पछाडि फर्किनका लागि समीक्षा गर्ने होइनौं । हामी अगाडि बढ्नका लागि समीक्षा गर्ने हो । जनताले प्राप्त गरेका उपलब्धिहरू खोस्नका लागि होइन, ती उपलब्धिहरू थप बलियो बनाउन, विस्तार गर्न र परिमार्जन गर्नका लागि समीक्षा गरिन्छ,’ उनको भनाइ थियो ।

शनिबार सम्पन्न तीन दलबीचको छलफलमा आफूले आन्दोलनको परिभाषा निर्धारण गर्नु आवश्यक रहेको कुरा उठाएको पनि बताए ।

‘तीन दलको बैठकमा आफूले आन्दोलन भन्नाले के बुझिने? विद्रोह के हो? के हो र के होइन भन्नेमा स्पष्ट परिभाषा आवश्यक छ । एउटा साझा व्याख्या आवश्यक छ,’ उनले भने, ‘‘यदि कसैले लोकतन्त्र, गणतन्त्र, र इमान्दारिताका साथ अघि बढ्ने प्रयत्न गर्दछ भने त्यो आन्दोलन हो, त्यसलाई संरक्षण गरिनुपर्छ ।’

कसैले लोकतन्त्रको विरोधमा, निरंकुशता र तानाशाहीका पक्षमा आवाज उठाउँछ भने त्यो आन्दोलन नभइ अपराधिक गतिविधि भएको उनको भनाइ थियो ।

अध्यक्ष दाहालले शासकीय स्वरुप नै अहिलेको अस्थिरताको कारक भएको चर्चा गर्दै अहिलेको व्यवस्थासँग मिल्दो शासकीय स्वरुप र निर्वाचन प्रणाली हुनुपर्नेमा जोड दिए । उनले राजनीतिक प्रणाली र आर्थिक विकासको एकापसमा गहिरो सम्बन्ध रहने भएकाले आर्थिक नीतिबारे छलफल हुनुपर्ने जिकिर गर्दै प्रचुर प्राकृतिक सम्पदा हुँदाहुँदै आर्थिक क्षेत्र बलियो हुन नसक्नु चिन्ताको विषय भएको बताए ।

सरकारले सेवा प्रवाह उचित ढङ्गले गर्न नसकेका कारण दल र नेताहरुप्रति जनताको निराशा बढेको अध्यक्ष दाहालको भनाइ थियो । सरकार जनताको आवश्यकता र चाहनामा केन्द्रित रहनुपर्ने उनको सुझाव थियो ।