काठमाडौं - उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेतृत्व विश्वासिलो भए गाह्रो काम पनि सजिलै सम्भव हुने बताएका छन् ।

नेपाल परम्परागत बौद्ध धर्मसंघ नेपाल बज्रयान महाविहार, लुम्बिनीले आइतबार बुद्ध जन्मभूमि लुम्बिनीमा ‘नेपाल बज्रयान महाविहार’ बनाउन सहयोग गर्ने दाताहरूलाई सम्मान गर्न क्षेत्रपार्टीमा आयोजना गरेको कार्यक्रममा उनले यस्ता बताएका हुन् ।

लुम्बिनीमा विभिन्न देशको सहयोगमा संरचनाहरू बनेको चर्चा गर्दै बज्रयान महाविहार नेपालीहरूकै लगानी र नेतृत्वमा बन्नु सुखद् विषय भन्दै उनले विहार निर्माणका लागि सहयोग गर्ने सबैको प्रशंसा गरे ।

‘हामी सबैले के बुझ्नुपर्छ भने राम्रो काम गर्न गाह्रो हुन्छ । नेतृत्व राम्रो र विश्वासिलो भयो भने गाह्रो काम पनि सम्भव हुन्छ भन्ने कुराको उदाहरण यो विहार बनेको छ,’ उनले भने, ‘राजनीतिक रूपका हेर्दा ०४६ सालको जनआन्दोलनमा सर्वोच्च कमान्डर गणेशमान सिंहप्रति सबै दलहरूको विश्वास थियो । त्यही कारणले आन्दोलनलाई नेतृत्व गरेर सफलतामा पुर्याउनुभयो ।’

कार्यक्रममा विहार निर्माणमा सहयोग गर्नेहरूलाई उपप्रधानमन्त्री सिंहले सम्मानपत्र वितरण गरेका थिए ।