काठमाडौं - नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन र भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन विधानले भनेअनुसार समयमै गर्नुपर्नेमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले जोड दिएका छन् । नेविसंघ पूर्वअध्यक्षसमेत रहेका महरले नेविसंघ स्थापना दिवस रहेको स्मरण गर्दै नेपाली कांग्रेस खैरहनी नगर समितिको नयाँ वर्षको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन यस्तो जनाएका हुन् ।

‘कांग्रेसको विधानअनुसार २०८२ नेपालीकांग्रेसको महाधिवेशन वर्ष हो । हामीले भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको महाधिवेशन गरिसक्नुपर्ने अवस्था हो तर भ्रातृ संस्थाहरुले पार्टीले दिएको गाइडलाइनसमेत पालना गरको देखिएन, समयमै भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन हुन नसक्दा पार्टी जीवनमै समेत असर परिरहेको छ,’ उनले भने ।

भ्रातृ संस्था र पार्टीको समयमै आवधिक निर्वाचन प्रक्रिया सम्पन्न गर्ने बाटोमा नलगे कांग्रेसको लोकतान्त्रिक चरित्र हराउनेतर्फ उनको चिन्ता छ । त्यसैले विधानअनुसारै निर्वाचन सम्पन्न गरेर लोकतान्त्रिक चरित्रको रक्षा गर्नु अपरिहार्य रहेको उनले औंल्याए ।

उनले समयमै निर्वाचन सम्पन्न गराउन वडादेखि केन्द्रसम्मका जिम्मेवार नेता कार्यकर्ताहरूको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन् । ‘सबै आफ्नो जिम्मेवारी पूरा गर्न तयार रहनुपर्छ । विशेषगरी केन्द्रीय कार्यालयका पदाधिकारी बढी गम्भीर हुनु जरुरी छ । केन्द्रीय पदाधिकारी जिम्मेवार नभइरहेको अवस्थामा वडा तहदेखि नै काम गर्दै हामी अगाडि बढ्यौं भने केन्द्रलाई अवश्यक दबाब पर्नेछ । यसो हुँदा समयमै महाधिवेशन हुने सम्भावना रहन सक्छ,’ महरले भने ।

मुलुकमा राजनीतिक तरलता रहेको अवस्थामा कांग्रेस सबै क्षेत्रमा जिम्मेवारपूर्ण ढंगबाट प्रस्तुत हुनुपर्ने उनले बताएका छन् । ‘पञ्चायतका प्रेतआत्माहरु सदबलाउन थालेका छन् । ती लोकतन्त्रको खिलाफमा छन् । उनीहरूलाई परास्त गर्न राजनीतिक दलका नेता कार्यकर्ताका चरित्र सुधार हुन जरुरी छ । अनी मात्र उनीहरू परास्त हुन सक्छन्,’ महरले भने ।

एक अर्को प्रसंगमा नेता महरले २० चैतदेखि शिक्षा ऐन जारी गर्नेलगायत माग गर्दै शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेकाले उनीहरूका माग सम्बोधनमा सरकार गम्भीर हुनुपर्ने बताएका छन् । शिक्षकको आन्दोलनका कारण नयाँ शैक्षिक सत्र प्रभावित हुनुका साथै कक्षा १२ को परीक्षा तोकिएको समयमा हुने नहुने अन्योल थपिएको तर्फ सरकार गम्भीर हुन नसक्नु चिन्ताको विषय भएको कांग्रेस शिक्षा विभाग प्रमुखसमेत रहेका महरको टिप्पणी छ ।

शैक्षिक क्यालेन्डर कार्यान्वयनका लागि शिक्षकका माग सम्बोधन गर्न सरकार गम्भीर बन्नु अहिलेको आवश्यकता भएको उनको भनाइ छ । विद्यार्थीको मनोविज्ञानमा असर नपर्ने गरी महासंघले पनि सरकारसँग वार्ता गरेर निष्कर्षमा पुग्नु नै अहिलेको अपरिहार्यता रहेको महरले बताए ।