काठमाडौं - गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले नेकपा एमाले र नेपाली कांग्रेसबीचको सत्ता साझेदारीमा कुनै समस्या नरहेको बताएका छन्। सत्ता साझेदार दलबीच एकता कायम रहेको भन्दै उनले सरकार ढल्ने चर्चा निराधार भएको प्रष्ट पारे।
पोखरामा शनिबार पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले दुई ठूला दलबीच सहकार्यमा खलल नपरेको दाबी गरे। ‘दुई पार्टीका बीचमा कुनै समस्या छैन,’ उनले भने, ‘साथीहरूले सरकार ढल्छ-ढल्छ भनिदिनुहुन्छ, अनि हामीले ढल्दैन है भनेर भनिरहनुपरेको छ।’
हालै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले नेतृत्वको सरकार लामो समय नटिक्ने अभिव्यक्ति दिएका थिए।
यस्तै सत्तारूढ कांग्रेसभित्रकै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सरकारको कामकारबाहीमाथि निरन्तर प्रश्न उठाउँदै आएका छन्।
महामन्त्री शर्माले सञ्जाल विधेयक, कुलमान घिसिङको विषय, शिक्षक आन्दोलन, अख्तियारसम्बन्धी विधेयक, त्रिभुवन विश्वविद्यालयको उपकुलपतिले दिएको राजीनामा, नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति र नेपाल प्रहरीको एआईजी पद रिक्त रहेको विषयमा सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गरेका थिए।
गृहमन्त्री लेखकले भने सरकारले गभर्नर नियुक्तिमा ढिलाइ भएको स्वीकार गर्दै सही स्थानमा योग्य व्यक्ति ल्याउने प्रक्रिया चलिरहेको स्पष्ट पारे।


0 comment