काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कपिलवस्तुस्थित तिलौराकोट पुगेर सिद्धार्थ गौतम बुद्धको ऐतिहासिक घर रहेको प्राचीनस्थलको अवलोकन गरेका छन् । उनले उक्त क्षेत्रको संरक्षण र समृद्धि गर्दै पर्यटकीय विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।
अध्यक्ष दाहालले हुलाकी राजमार्गकेन्द्रित अभियानका क्रममा तराईका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरूको भ्रमण गरिएको जानकारी दिए । उनले भने, ‘हामीले तराईका हरेक क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सम्भावनाहरूको अध्ययन र विश्लेषण गरिरहेका छौं ।’
उनले तिलौराकोटलाई ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण स्थलका रूपमा चिनाउँदै बुद्धको प्रारम्भिक जीवनसँग प्रत्यक्ष सम्बन्ध रहेको यो क्षेत्रको प्रचार र विकासमा राज्यले प्राथमिकता दिनुपर्ने धारणा राखे ।
ऐतिहासिक प्रमाणअनुसार, तिलौराकोट बुद्धको बाल्यकालको घर हो । जहाँबाट उनी तपस्याको बाटोमा निस्किएर बुद्धत्व प्राप्त गर्न अघि बढेका थिए । लुम्बिनीमा जन्मिए पनि बुद्धको बाल्यकाल र युवावस्था यही तिलौराकोटमा बितेको इतिहासकारहरू बताउँछन् ।


0 comment