काठमाडौं - गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् ।

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज (शुक्रबार) पोखरामा उद्घाटन गर्दै उनले पूर्वराजावादी या अरु कुनै पनि नाममा हुने संविधानविरोधी गतिविधि तथा अस्थिरता निम्त्याउने काम कुनै पनि हालतमा क्षम्य नहुने बताए ।

मन्त्री लेखकले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त वर्तमान संविधानको रक्षाका लागि सबै तयार हुनुपर्ने बताए । नेपालमा सात दशकको अन्तरालमा सातवटा संविधान बनेको उल्लेख गर्दै उनले वर्तमान संविधान संसारकै उन्नत लोकतान्त्रिक संविधान भएकाले यसैमार्फत हरेक समस्याको समाधान सम्भव भएको धारणा राखे ।

‘संविधानभित्र रही आलोचना, समालोचना तथा विभिन्न गतिविधि गर्न पाइन्छ । संविधानविरोधी गतिविधिका माध्यमबाट हत्याहिंसालाई प्रश्रय दिने, संविधान फाल्छु भन्नेजस्ता अराजक गतिविधि गर्न पाइँदैन । गरिएमा कानुनअनुसार कारबाही हुन्छ,’ मन्त्री लेखकको भनाइ छ, ‘संविधानको रक्षा आजको आवश्यकता हो । वर्तमान संविधान निर्माणको १० वर्ष हुँदै छ । यस अवधिको आवश्यक समीक्षासहित सम्बद्ध सबैसँग सहमति कायम गरेर आवश्यकताका आधारमा संशोधन गर्दै थप सुधारको प्रयास गरिनेछ ।’

पछिल्ला वर्षमा लागुऔषधको बढ्दो प्रयोग, आत्महत्या, सवारी दुर्घटना, साइबर अपराध, प्राकृतिक विपद् आदि चुनौतीका रूपमा देखापरेकाले यी सबै चुनौतीको समाधान गर्नेतर्फ सरकार निरन्तर क्रियाशील रहेको उनको दाबी छ । सेवा प्रवाह प्रभावकारी बनाउनु अपरिहार्य भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले जनतालाई सेवा दिने कुरामा कुनै कसर बाँकी नराख्न आग्रह गरे ।

उनले जिल्लामा प्रमुख जिल्ला अधिकारीलगायतको रूपमा संघीय सरकारका प्रतिनिधि रहेकाले यस कार्यालयले संघ, प्रदेश र स्थानीय तहबीच आपसी समन्वय गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याए । सेवालाई नागरिकमैत्री तथा प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने पनि उनको भनाइ थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश प्राकृतिक विपत्तिका दृष्टिबाट पनि जोखिमपूर्ण रहेका भन्दै जोखिमलाई समाधान गर्नेतर्फ सरकार निरन्तर लागिपरेको बताए । बाढी, पहिरो, भूकम्पलगायत विपद् प्रतिकार्यमा सरकार निरन्तर लागिपरेको उनले बताए । मुख्यमन्त्री पाण्डेले प्रदेशमा सम्भाव्य प्राकृतिक विपत्तिलाई लक्षित गरी १० करोड रुपैयाँमा नघट्ने गरी कोषसमेत विनियोजन गर्दै प्रतिकार्यका लागि आवश्यक उपकरणलगायतमा सहयोग गरिँदै आएको बताए । उनले गत वर्ष कोरला नाका सञ्चालनसमेत गरिएको बताउँदै उहाँले त्यसलाई थप व्यवस्थित गर्दै अघि लैजानुपर्ने आवश्यकता औँल्याए ।

सुरक्षा गोष्ठीमा प्रदेशअन्तर्गत सबै जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थिति छ । मन्त्री लेखकले आजै सङ्घ मातहत रहेको आपतकालीन गोदामघर गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेका थिए । एक समारोहबीच मन्त्री लेखकले प्रदेशका मुख्यमन्त्री पाण्डेलाई आपतकालीन गोदामघर हस्तान्तरण गरे ।

गण्डकी प्रदेशमा आपत्कालीन बन्दोबस्ती क्षमता अभिवृद्धि गर्न निर्माण गरिएको आपत्कालीन गोदामघरले सङ्कटका समयमा तत्काल प्रभावकारी बन्दोबस्ती सहायता सुनिश्चित गर्ने गृहमन्त्री लेखकले बताए ।

गण्डकी प्रदेश प्राकृतिक जोखिमका दृष्टिबाट समेत जोखिमपूर्ण रहेको बताउँदै उनले गोदामघरले यहाँ हुने विभिन्न प्राकृतिक विपत्तिमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि केन्द्र, प्रदेश र स्थानीय तहबीचको सहकार्य आवश्यक भएको उनले बताए ।

मुख्यमन्त्री पाण्डेले गोदामघर हस्तान्तरणसँगै विपद् उद्धार कार्यलाई एकद्वार प्रणालीमार्फत गर्न सहयोग पुग्ने बताए । गृहसचिव गोकर्णमणि दुवाडीले आपतकालीन अवस्थामा खोज तथा उद्धारका लागि गोदामघर सहयोगी बन्ने बताउँदै सबै स्थानीय पालिकामा गोदामघर हुनु आवश्यक भएको धारणा राखे ।