काठमाडौं - ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ ।

स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई खुवाइनेछ ।

सोही दिन एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । बालबालिकालाई बालभिटा खुवाइनेछ । सोही दिन बालबालिकामा कुपोषणको परीक्षण पनि गरिनेछ ।

‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिनेछ । सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारका लागि २०५० सालमा आठ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि देशभरि लागु गरिएको हो ।

जुका नियन्त्रण तथा रोकथामका लागि २०५६ सालदेखि १३ जिल्लाबाट सुरु गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ देखि सबै जिल्लामा लागु गरिएको छ । यस्तै २०६४ सालदेखि बालभिटा खुवाइने गरेको छ ।

प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने व्यवस्था सरकारले गर्दै आएको छ ।