काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले हालै तीनकुनेमा राजावादी समूहद्वारा सञ्चालित आन्दोलनका क्रममा पत्रकारहरूलाई जिउँदै जलाउने प्रयास, उद्योग व्यवसायमाथि आगजनी तथा तोडफोडजस्ता आपराधिक कार्यहरूले राजावादी प्रवृत्तिको वास्तविकता उजागर गरेको बताएका छन् ।
नेकपा माओवादी केन्द्र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला समन्वय समितिद्वारा आयोजित ‘जनतासँग माओवादी : तराई-मधेस जागरण अभियान’ अन्तर्गत सदरमुकाम परासीमा अन्तर्क्रिया कार्यक्रममा माओवादी अध्यक्ष दाहालले सहभागीहरूद्वारा प्रस्तुत गरिएका प्रश्नहरूलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
कार्यक्रममा उद्योग तथा व्यापार क्षेत्रका प्रतिनिधिहरू, शिक्षाविद्, सञ्चारकर्मी, नागरिक समाजका अगुवाहरू, विभिन्न संघ-संस्थाका पदाधिकारी तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रह्यो । सहभागीहरूले मुलुकको वर्तमान आर्थिक, सामाजिक तथा राजनीतिक परिदृश्यमा विद्यमान विविध जटिल विषयहरूबारे पार्टी नेतृत्वसमक्ष जिज्ञासा र सुझावहरू राखेका थिए ।
अध्यक्ष दाहालले नेपालको समग्र विकास प्रक्रिया विशेषतः तराई-मधेस क्षेत्रको योगदानबारे चर्चा गर्दै हालै तीनकुनेमा राजावादी समूहद्वारा सञ्चालित आन्दोलनका क्रममा पत्रकारहरूलाई जिउँदै जलाउने प्रयास, उद्योग व्यवसायमाथि आगजनी तथा तोडफोडजस्ता आपराधिक कार्यहरूले राजावादी प्रवृत्तिको वास्तविकता उजागर गरेको स्पष्ट गरे ।
यस्ता अराजक गतिविधिहरूले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात पुर्याउने हुँदा सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू एकताबद्ध भई त्यसको प्रतिवाद गर्नुपर्ने उनको धारणा थियो ।
सहभागीहरूले बैंकिङ क्षेत्रको ब्याजदरसम्बन्धी अस्थिरताले व्यवसायमा परेको प्रतिकूल असरबारे अवगत गराउँदै व्यावसायिक वातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । साथै, हाल देशभर जारी शिक्षक आन्दोलनप्रति चिन्ता व्यक्त गर्दै त्यसको समाधान गरी बालबालिकालाई पठनपाठनमा फर्काउने वातावरण निर्माणको माग राखिएको अध्यक्ष दाहालले शिक्षकका माग पूरा गर्न आफू प्रधानमन्त्री हुँदा सदनमा विधेयक दर्ता गरेको जानकारी बताए ।
उनले विकासको मोडल स्थानीय आत्मनिर्भर अर्थतन्त्रमा आधारित हुनुपर्नेमा जोड दिँदै, राष्ट्रिय हितलाई केन्द्रमा राखी समावेशी, सन्तुलित र दिगो विकासका बाटाहरूको खोजी गर्नु आजको अपरिहार्यता भएको विचार राखे ।


0 comment