काठमाडौं - सरकारले संघीय संसद्को बजेट अधिवेशन आह्वान गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आउँदो वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी संघीय संसद्को अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक लगायतका विषय पारित गर्न अधिवेशन बोलाउने निर्णय गरिएको जानकारी दिइन्।
‘संघीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गरिनेछ,’ मन्त्री भट्टराईले भनिन्।’
हाल काठमाडौंमा आन्दोलनरत शिक्षकहरूले विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्न माग गर्दै दबाबमूलक कार्यक्रम गर्दै आएका छन्। उनीहरूले संसद्को विशेष वा बजेट अधिवेशन आह्वान गरेर भए पनि विधेयक पारित गर्न सरकारलाई आग्रह गर्दै आएका छन्।
सरकारको तर्फबाट अधिवेशनको सिफारिससँगै विधेयक पारित प्रक्रिया अगाडि बढ्ने संकेत देखिएको छ। आन्दोलनरत शिक्षकहरू विद्यालय शिक्षा ऐन समयानुकूल बनाउन, पुराना सम्झौता कार्यान्वयन गर्न र शिक्षामा सुधारका माग राख्दै काठमाडौंमा १३ दिनदेखि आन्दोलनमा छन्।


0 comment