काठमाडौं - संसदीय चुनावसम्म सँगै जाने प्रतिबद्धता जनाएका नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्य ९ महिनामै धरापमा परेको संकेत देखिन थालेको छ।
बीपी स्मृति अस्पतालको साधारण सभामा कांग्रेस नेता शेखर कोइरालाले ओली नेतृत्वको सरकारप्रति सार्वजनिक असन्तुष्टि पोखेपछि सभापति शेरबहादुर देउवाले समेत त्यसलाई समर्थन गर्नु, र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नयाँ सरकारको संकेत यी सबैले गठबन्धनको बलियो जग कमजोर बन्दै गएको स्पष्ट संकेत दिएका छन्।
गएको असारमा सातबुँदे सहमतिमार्फत कांग्रेस र एमालेबीच सत्ता बाँडफाँट भएको थियो। सहमति अनुसार पहिलो डेढ वर्ष ओली प्रधानमन्त्री रहने र त्यसपछि देउवाले नेतृत्व सम्हाल्ने भनिएको थियो। तर, ओलीको कार्यकाल अझै ११ महिना बाँकी हुँदाहुँदै गठबन्धनभित्र चिसोपन बढ्न थालेको छ।
कांग्रेसभित्र खासगरी नेता शेखर कोइरालाको नेतृत्वमा सरकारप्रति असन्तुष्टि सुरु भएको थियो। तर अब कोइरालाको आलोचना कांग्रेस सभापति देउवाले समेत समर्थन गरेपछि यो असन्तुष्टि संस्थागत तहमै पुगेको देखिएको छ।
शेखर कोइरालाले त सरकारले संविधान पुनरावलोकन, सुशासन र दण्डहिनता अन्त्यका प्रतिबद्धता पूरा गर्न नसकेको खुलेरै बताउँदै आएका छन् ।
कोइरालाले सरकारप्रति दिएको चर्को टिप्पणीपछि देउवाले सार्वजनिक रूपमै भनाइको अनुमोदन गरे। ‘सरकारको नाममा अहिले धेरै बदनामी भइरहेको छ, यो नहोस्,’भनेर देउवाले टिप्पणी गर्दै ओली नेतृत्वको कार्यशैलीप्रति असन्तोष जनाए।
त्यति मात्रै होइन, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि ओली नेतृत्वको सरकार अब धेरै अगाडि जान नसक्ने दाबी गरे। नयाँ वर्षसँगै नयाँ सरकार आउने संकेत दिँदै उनले परिस्थिति परिवर्तनको ढोका खुल्न लागेको बताए।
माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्तिपछि एमालेले कडा प्रतिक्रिया दिएको छ। उपमहासचिव प्रदीप ज्ञवालीले प्रचण्डको भनाइलाई कुण्ठाको संज्ञा दिँदै सरकार परिवर्तनको कुनै औचित्य नभएको दाबी गरे।
त्यसो त कांग्रेसका अर्का प्रभावशाली नेता गगन थापाले समेत सरकार सञ्चालनमा पार्टीको प्रभाव नरहेको गुनासो गरे। उनले सरकारमा पार्टीको सुझावलाई बेवास्ता गरिएको र अपेक्षाअनुसार काम नभएको बताए।
त्रिभुवन विश्वविद्यालयका भिसी, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र राष्ट्र बैंकका गर्भनर नियुक्ति-बर्खास्ती लगायतका निर्णयमा एमालेले एकलौटी गरेको कांग्रेस नेताहरूको गुनासो छ।कांग्रेसभित्र देउवा, कोइराला र थापाजस्ता नेताहरूको असन्तुष्टि संस्थागत तहमा पुगेको छ।माओवादी केन्द्र पनि सरकारमा फर्किन आतुर देखिन्छ।
सत्ता सहकार्यको नौ महिनामै बढेको असमझदारीले कांग्रेस-एमाले गठबन्धन दीर्घकालीन बन्न सक्ने सम्भावना कमजोर बनाएको छ। देउवा र प्रचण्डले मिलेर नयाँ सत्ता समीकरण बनाउने संकेतहरू झन् प्रष्ट हुँदै गएका छन्। यदि यही गतिमा असन्तुष्टि चुलिँदै गए, नयाँ वर्षले साँच्चिकै नयाँ सरकारको ढोका खोल्ने सम्भावना नकार्न सकिंदैन।


0 comment