काठमाडौं - नेकपा एमालेले सातजना कम्युनिस्ट योद्धालाई सम्मान गर्ने भएको छ ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज (सोमबार) बसेको सचिवालय बैठकले पार्टी स्थापना दिवसका अवसरमा नेपाली कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गरेका सातजना विशिष्ट व्यक्तित्वलाई कम्युनिस्ट योद्धाका रूपमा सम्मान गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार सम्मान गरिने व्यक्तित्वमा क्रमशः लालबहादुर विश्वकर्मा (कञ्चनपुर), रत्न शर्मा न्यौपाने (मरणोपरान्त), बाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ), हरिचरण शिवाकोटी (झापा) छन् ।
त्यसैगरी बैठकले तत्कालीन नेकपा (माले) र कोर्डिनेसन केन्द्र पार्टी निर्माणका क्रममा ३४ नेता तथा कार्यकर्ताको संस्मरण समेटिएको पुस्तक ‘सेल्टर’ सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ । पुस्तकमा तत्कालीन अवस्थामा पार्टी निर्माण गर्दा नेता जनताको घरमा कसरी आश्रय लिए, पार्टी महाधिवेशन गर्ने त्यो वेला भूमिगत समयमा नेताहरुले कसरी काम गरे, कार्यकर्ताले कसरी नेताहरुलाई सुरक्षा दिए भन्ने सन्दर्भ समेटिने जनाइएको छ ।
अर्को प्रसंगमा उपमहासचिव ज्ञवालीले सरकार परिवर्तनको कुरा गर्नु भनेको सत्ताप्रतिको आशक्ति मात्र भएको दाबी गरे । ‘अहिले सरकार परिवर्तन न कतैबाट पनि सम्भव, न त कुनै सान्दर्भिकता र न त कुनै औचित्य छ,’ उनले भने । सरकारले अझ राम्रो काम गर्न जरुरी रहेको उनको भनाइ छ ।
‘केही कमजोरीलाई आधार बनाएर एकथरीले प्रणाली नै उल्टाउने कोसिस गर्ने र अर्का थरिको ध्यान केवल सरकार परिवर्तनमा जाने । यी कुरा अस्थिरता निम्त्याउने प्रयत्न हो । यो सफल हुँदैन भन्ने मान्यता पार्टीको रहेको छ,’ उनले भने ।
बैठकले लोकतान्त्रिक गणतन्त्रको बिजारोपण भएको र जनताले जितेको ऐतिहासिक दिनका रूपमा वैशाख ११ गते ‘युथ सेलिब्रेसन’ भव्य रूपमा मनाउने निर्णय गरेको छ ।
बैठकमा अध्यक्ष केपी ओलीले वर्तमान मुलुकको समसामयिक विकसित राजनीतिक घटनाक्रमका बारेमा संक्षिप्त जानकारी गराएका थिए । यसबारे सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।


0 comment