काठमाडौं - नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिप्रति सत्तारुढ आपत्ति जनाएको छ। च्यासलस्थित पार्टी कार्यालयमा सोमबार बसेको सचिवालय बैठकले शाहको भनाइ संविधान, लोकतन्त्र र गणतान्त्रिक मूल्यविरुद्ध रहेको निष्कर्ष निकालेको हो।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवाली भने, ‘उहाँको मनमा अझै पनि राजतन्त्र फर्काउन सकिन्छ कि अहिलेका उपलब्धिहरुलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र त्यस सम्बन्धी सक्रियता जीवितै रहेको पायौं, जुन गलत भयो।’
ज्ञवालीका अनुसार तिनकुनेमा भएको आपराधिक घटनालाई जनताको जागरण भनेर चित्रण गर्नु अझै आपत्तिजनक छ। ‘१५ गतेको आपराधिक घटनालाई जनतामा आएको जागरण भन्नुभयो,’उनले भने, ‘ यदि उहाँले खोजेको जागरण त्यस्तै हो भने त्यो आपत्तिजनक छ।’
एमाले सचिवालय बैठकले लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने कुनै पनि प्रयास असफल हुने र त्यो अबाञ्छित भएको स्पष्ट पारेको छ। ‘मुलुकले लोकतान्त्रिक गणतन्त्रको कोर्स लिइसकेको छ, यसलाई उल्ट्याउने कुनै पनि प्रयास सफल नहुने ज्ञवालीले बताए।
७६ औं स्थापना दिवस मनाउँदै, सात नेता सम्मानित हुने
एमाले सचिवालय बैठकले यही वैशाख ९ गते पार्टीको ७६ औं स्थापना दिवस मनाउने निर्णयसमेत गरेको छ। सो अवसरमा सात जना पुराना कम्युनिष्ट नेताहरुलाई ‘कम्युनिष्ट योद्धा’ को रुपमा सम्मान गरिने भएको छ।
सम्मानित हुने नेताहरूमा कञ्चनपुरका लालाबहादुर विश्वकर्मा, जाजरकोटका रत्न शर्मा न्यौपाने, दाङका सोभाराम बस्नेत, गोरखाका वासस्पति देवकोटा, काठमाडौँकी शान्ता मानवी, सप्तरीका सत्यनारायण मण्डल र झापाका हरिचरण शिवाकोटी रहेका छन्। साथै, त्यस दिन पुराना कम्युनिष्ट नेताहरूको स्मरण पुस्तक पनि सार्वजनिक गरिने उपमहासचिव ज्ञवालीले जानकारी दिए।
सरकार परिवर्तनको सम्भावना छैन
सचिवालय बैठकमा पछिल्लो सत्ता समीकरणको चर्चा पनि भएको थियो। प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार मात्रै सरकार परिवर्तनको वातावरण बन्ने संकेत दिएका थिए। तर, एमालेले त्यसलाई निराधार र असम्भव बताएको छ।
‘सरकार परिवर्तनको कुनै सम्भावना छैन। न यो कुनै समाधान हो, न जनताको चाहना। असम्भव, निरर्थक र अलोकप्रिय विषय उठाउनुपर्ने कुनै कारण छैन,’ उपमहासचिव ज्ञवालीले स्पष्ट पारे।


0 comment