काठमाडौं - उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सार्वभौम संविधानसभाले बनाएको संविधानको विरुद्धमा गए केही पनि प्राप्त नहुने बताएका छन् । सबैले संविधानको परिधिभित्र बस्नुपर्ने उनको धारणा छ ।

काभ्रेको नमोबुद्ध नगरपालिका १ मा स्वास्थ्यचौकी भवन उद्घाटन, बालमैत्री वडा घोषणा र वडाको प्रशासकीय भवन उद्घाटन गर्दै उनले जे गर्नुपर्ने हो संविधानको परिधिभित्रै रहेर गर्नुपर्नेमा जोड दिए ।

‘जे गर्नुपर्ने हो संविधानभित्रै बसेर नै आफ्नो कामहरू गर्न सक्नुपर्छ । कसैलाई चित्त बुझेन भन्दैमा संविधानसभाबाट जनप्रतिनिधिले जारी गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको खिलापमा गएर केही हुँदैन,’ उनले भने, ‘संविधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । चित्त नबुझेको कुरा छन् भने विधि र प्रक्रियाअनुसार राख्न सकिन्छ । संविधान सशोधन गर्न सकिन्छ ।’

०१७ सालमा गुमेको अधिकार ३० वर्ष लामो संघर्षबाट फिर्ता भएको चर्चा गर्दै उनले अहिले प्राप्त अधिकार सजिलै प्राप्त नभएको बताए ।

अधिनायकवादी व्यवस्थामा नागरिक अधिकार कुण्ठित मात्र नभई विकासको कामसमेत हुन नसक्ने विगतको अनुभव सुनाउँदै सिंहले गणतन्त्रपछि नागरिक अधिकार सुरक्षित भएको र विकासले गति लिएको दाबी गरे । अघिल्लो पुस्ताले कष्टकर जीवन बिताउनुपरेको अवस्था बिर्सन नहुने भन्दै विकासको काम क्रमिक रूपमा हुने उनको भनाइ छ । उनले ०४६ को परिवर्तनपछि विकासका धेरै काम भएको दाबीसमेत गरे ।

त्यस्तै उपप्रधानमन्त्री सिंहले सहरहरू बनाउँदा नागरिकलाई सुविधा दिनुपर्नेमा जोड दिए । संघीयतामा गएपछि देशभर स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा उल्लेख्य काम भएको भन्दै अब नागरिकलाई प्रभावकारी सेवामा ध्यान दिनुपर्ने बताए ।

‘सहरहरू बनाउँदा प्रकृति मात्रै सुन्दर भएर हुँदैन । मानिसहरूलाई सुविधा पनि आवश्यक पर्छ । अस्पताल र प्रशासनिक भवन आज उद्घाटन भएको छ । भोलिदेखि नै वडावासीलाई सुविधा हुने गरी असपताल र प्रशासनिक भवनबाट काम हुनेछ भन्ने मलाई विश्वास छ,’ सिंहले भने । उनले नमोबुद्ध नगरपालिकाको ११ वटै वडामा आधुनिक स्वास्थ्य भवनबाट सुविधा दिइरहेको थाहा पाउँदा खुसी लागेको भन्दै नागरिकलाई निरोगी बनाउन र समयमै उपचारका लागि देशका हरेक वडाबाट यस्तै स्वास्थ्य सेवा दिनुपर्नेमा जोड दिए ।

अहिले अवस्था फेरिएन भनेर केहीले अफवाह फैलाइरहेको भन्दै सचेत रहन पनि सिंहले आग्रह गरे । हल्ला जे पनि गर्छन्, त्यसमा आधार के छ बुझ्न आग्रह गर्दै उनले कागले कान लग्यो भन्दैमा कागको पछि कुद्ने भन्दा कान छाम्नुपर्ने बताए ।

स्थानीय, प्रदेश र संघका जनप्रतिनिधिलाई सेवा गर्छ भनेरै जनताले मत दिएको भन्दै राजनीतिलाई सेवाभावका रूपमा अगाडि बढाउनुपर्नेमा सिंहको जोड छ । चुनावमा आ-आफ्नो घोषणापत्र लिएर मत मागे पनि चुनावपछि सबै मिलेर विकासको काम गर्ने राजनीतिक संस्कार विकसित गर्नुपर्ने पनि उनले बताए ।

‘जनता र जनप्रतिनिधिको मिलन भयो भने मात्र विकास निर्माणको काम राम्रो ढंगले हुनसक्छ,’ सिंहले भने, ‘जनप्रतिनिधिले जनतालाई साथमा लिएर विकास निर्माणको काममा अघि बढ्दा राम्रो हुन्छ ।’ उनले प्राकृतिक रूपमा सुन्दर र पर्यटकीय हिसाबले महत्त्वपूर्ण नमोबुद्ध नगरपालिकाको विकासमा सहरी विकास मन्त्रालयबाट हुने काममा आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।