काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको सेवा विस्तारमा पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अस्पतालको शनिबार १७ औं वार्षिक साधारणसभामा उनले जननेता बिपी कोइरालाका नाममा अन्य स्थानमा पनि अस्पताल स्थापनाको प्रयास गर्ने बताए ।
’सहकारी संस्थाका रुपमा स्थापना भएको अस्पतालमा शेयर होल्डर र जनताको पैसाको सही सदुपयोग हुनुपर्छ,’ उनले भने, ‘ देशको स्वास्थ्य क्षेत्रको विकासमा बीपी स्मृति अस्पतालले गरेका काम सराहना छ ।’
पार्टीका नेता डा शेखर कोइरालालेसंविधान संशोधनमा विलम्ब गर्न नहुने बताए । संविधान संशोधनमा जति ढिलाइ हुन्छ, त्यति नै सडकमा आक्रोश बढ्ने उनले बताए । एमालेसँगको सत्ता साझेदारी पार्टी समस्यामा नपरोस् भन्नेतर्फ पार्टी नेतृत्व गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष उमेशजङ्ग रायमाझीले बीपी स्मृति अस्पताललाई सातै प्रदेशमा विस्तार गरिने बताए।
अस्पताल सञ्चालक समितिका पूर्वअध्यक्षहरु डा केदारनरसिंह केसी, डा सुदामप्रसाद अधिकारी, अस्पतालका शेयरहोल्डर रवीन्द्रनाथ रेग्मीलगायत वक्ताले बीपी कोइरालाका नाममा स्थापित अस्पताललाई चिकित्साको उत्कृष्ट केन्द्र बनाउन सिङ्गो पार्टी लाग्नुपर्ने बताए ।


0 comment