काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाविरुद्ध गतिविधि गर्ने जो–कोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
व्यास नगरपालिका, तनहुँको ३३औँ स्थापना दिवसका अवसरमा शनिबार दमौलीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पाण्डेले लामो संघर्ष र बलिदानबाट स्थापित वर्तमान राजनीतिक व्यवस्था जनताको चाहनाअनुरूप आएको उल्लेख गर्दै यसविरुद्ध लाग्नेलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारे।
‘यो व्यवस्था जनताको इच्छा, बलिदान र संघर्षबाट आएको हो,’ उनले भने, ‘यसविरुद्ध जाने जो–कोही सजायको भागीदार हुन्छ।’
मुख्यमन्त्री पाण्डेले राजनीतिक स्थायित्व कायम गर्दै वर्तमान प्रणालीबाटै देशलाई आर्थिक समृद्धिको दिशामा लैजानु आवश्यक रहेको धारणा राखे। उनले तीनवटै तहका सरकारबीच सहकार्य भए मात्र मुलुकको समुन्नति सम्भव हुनेमा जोड दिए।
कार्यक्रममा राष्ट्रियसभा सदस्य भगवती न्यौपाने, गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आले, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले लगायतका वक्ताहरूले पनि स्थानीय सरकार जनताको भावना र आवश्यकताअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिए।


0 comment