काठमाडौं - उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आउँदै गरेको वर्ष ०८२ सबै नेपालीका लागि अघिल्ला वर्षहरुभन्दा राम्रो होस् भन्दै शुभकामना दिएका छन् ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान-प्रदान एवं भित्तेपात्रो विमोचन कार्यक्रममा उनले शुभकामना व्यक्त गरेका हुन् ।

‘नयाँ वर्ष सबैका लागि राम्रो होस् । सबै नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दछु । सबै जीवन सहज रुपमा अघि बढोस्,’ उनले भने, ‘बितेका वर्षमा आशा गरेअनुसार गर्न नसकेका कामहरु सम्पन्न गर्न हामी सबैलाई सफलता मिलोस् । नेपालको राष्ट्रिय राजनीतिमा स्थिरताका लागि सरकारले काम गरिररहेको छ । जीवन र जिविकोपार्जन सहज बनाउन सरकारले काम गरिररहेको कुरा पनि भन्न चाहन्छु ।’

उनले नयाँ वर्षले सबैमा सकारात्मक सोचको विकास होस् भन्दै वर्ष ०८२ नेपाल र नेपाली जनताका लागि वर्ष ०८१ भन्दा राम्रो बन्ने विश्वास पनि व्यक्त गरे ।

कार्यक्रममा उपप्रधानमन्त्री सिंहले भित्तेपात्रो विमोचन गरेका थिए  । त्यस अवसरमा उनले आफ्नो निर्वाचन क्षेत्रका कांग्रेस नेता,कार्यकर्तासँग शुभकामना आदान-प्रदान गर्दै सबैमा सुख,शान्ति र समृद्धिको कामना गरे ।