काठमाडौं - उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रचारबाजी मात्र नभई जनताले महसुस गर्ने गरी विकासका काम गर्नुपर्ने बताएका छन् ।
अधिकार सम्पन्न बागमती एकीकृत सभ्यताको ३१औं वार्षिकोत्सव समारोहमा बिहीबार उनले प्रचारबाजीका लागि मात्र नभएर जनताले महसुस गर्ने गरी काम गरेर देखाउने समय आएको बताए । ‘अब हामीले खाली प्रचारबाजीका लागि यो गर्यौं, त्यो गर्यौं भन्ने होइन कि जनताले महसुस गर्ने गरी काम गरेर देखाउने समय आइसकेको छ,’ उनले भने, ‘जे जति योजना हामीले अहिले सम्पन्न गरेको छौं । आमजनतालाई त्यसबारे जानकारी गराउने र बाँकी कामलाई अगाडि बढाउँदा जनतालाई सुसूचित गराउनुपर्छ।’
त्यस्तै उपप्रधानमन्त्री सिंहले बागमती नदीकिनारमा रहेका मन्दिरहरुको पुनर्निर्माण र जीर्णोद्धार गरिएको पनि उनले बताए । धेरै सम्पदा रहेको बागमती नदी किनारमा हेरिटेज वाकको चर्चा भए पनि काम प्रभावकारी हुन नसकेकोप्रति उनले असन्तुष्टि जनाए । ‘हेरिटेज वाक कार्यान्वयन गर्न कहाँ-कहाँ कमजोरी भएका छन् । काम भइरहेको तर सदुपयोग हुन सकेको छैन । हेरिटेज वाक शीर्षकमा पढ्छौं तर आमनेपालीलाई अत्तोपत्तो छैन,’ सिंहले भने, ‘कुनै पनि काम गर्दा स्थानीय बासिन्दा, पालिका, वडालाई पनि साथैमा लिएर, उहाँहरुलाई चित्त बुझाएर काम गर्दा राम्रो हुन्छ भन्ने पाठ सिक्नुपर्छ ।’
‘बागमती, विष्णुमतीलगायत सबै नदीमा दुर्गन्ध हटाउने र स्वच्छ बनाउन आवश्यक काम गर्छौं’
हेरिटेज वाकदेखि कोरिडोरलाई व्यवस्थित गर्ने र बर्खामा बाढी नियन्त्रण गर्ने, नदी सफा गर्नेलगायत काम तत्काल गर्नुपर्नेमा सिंहले जोड दिए ।
त्यस्तै उनले नदीहरुको करिडोर बनाउने काम प्रभावकारी रुपमा अगाडि बढाउने पनि बताए । काठमाडौं उपत्यकाका नदीहरुमा फोहोर हुँदा दुर्गन्ध फैलिएको भन्दै उनले अब आउने बजेटमा बागमती, विष्णुमतीलगायत सबै नदीमा दुर्गन्ध हटाउन र स्वच्छ बनाउन आवश्यक योजना बनाएर अघि बढ्ने पनि बताए । ‘हामीले गर्ने भनेको नदीहरुलाई स्वच्छ बनाउन, दुर्गन्ध हटाउन योजना बनाएर अगाडि बढ्नेबाहेक अरु उपाय छैन,’ उनले भने, ‘नदीहरुको करिडोर बनाउने जुन काम छ । त्यसलाई पनि प्रभावकारी रुपमा अगाडि बढाउन सबैसँग समन्वय गरेर व्यवस्थित रुपमा सुरु गर्न लाग्नुपर्छ ।’


0 comment