काठमाडौं - उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पर्यटनको क्षेत्रमा धेरै सम्भावना रहेको भन्दै नेपालको अर्थतन्त्र चलायमान बनाउन पर्यटन क्षेत्रले टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
कोसी प्रदेश पर्यटन वर्ष २०८२ घोषणा सभामा बुधबार उनले सांस्कृति विविधता, साहसिक खेल पर्यटनलगायत प्रचुर सम्भावना रहेको भन्दै कोसी प्रदेश पर्यटन वर्ष सिँगै देशको अर्थतन्त्रमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले भारत र चीन दुवै छिमेकी देशसँग जोडिएको कोसी प्रदेश पर्यटकीय सम्भावनाको हिसाबले अत्यन्त सम्भावना बोकेको प्रदेश रहेको भन्दै पर्यटन वर्ष सफलताको शुभकामना दिए ।
‘कोसी प्रदेश छिमेकी देश भारत र चीनसँग जोडिएको प्रदेश हो । विश्वकै अग्लो सगरमाथादेखि होचो कचनाकवलसम्म पर्ने यो प्रदेश हेर्न लायकको छ । पर्यटन वर्ष मनाउँदा प्रदेशको सांस्कृतिक विधिता झल्काउने, साहसिक खेलकूदका गतिविधि गर्न आवश्यक छ,’ उनले भने, ‘पर्यटन वर्षमा पर्यटनमा आधारित भएर हुने गतिविधिले कोसी प्रदेशको मात्र होइन देशकै अर्थतन्त्रमा आएको शिथिलता चलायमान बनाउन यसले पर्याप्त मात्रमा टेवा पुर्याउने र योगदान गर्ने विश्वास लिएको छु ।’
त्यस्तै उनले २८ प्रकारको लालीगुराँस एकै ठाउँमा पाइने स्थलसम्म यहाँ रहेको भन्दै त्यसको प्रचार गर्न सके पर्यटकका लागि आकर्षण बन्न सक्ने बताए । ‘आफूसँग भएको साधन-स्रोतलाई परिचालन गरेर अझ राम्रो गर्न पर्यटन वर्ष प्रारम्भ भएको छ । कोसी प्रदेशले प्रारम्भ गरेको पर्यटन वर्ष अरु प्रदेशका लागि पनि नमुनाका रुपमा रहनेछ,’ सिंहले भने, ‘अरु प्रदेशलाई पनि पर्यटनका गतिविधि गर्न मार्गदर्शन गर्नेछ ।’
उपप्रधानमन्त्री सिंहले पर्यटकीय क्षेत्रमा सडकलगायत पूर्वाधार निर्माणमा सरकारले ध्यान दिने बताए । उनले प्रधानमन्त्री केपी ओलीका तर्फबाट पनि पर्यटन वर्षलाई दिएको शुभकामना सन्देश पनि सुनाएका थिए ।
‘जनतालाई केन्द्रविन्दुमा राखेर । जनताको आवश्यकता पूर्ति गर्न र आमनेपाली जनताको जीवन र जीविकोपार्जन सहज गर्न केन्द्रित भएर काम गरिररहेका छौं,’ सिंहले भने,‘केही कमी-कमजोरी भएको होला, राम्रा कामहरु पनि हामीले गरेका छौं । ०४६ साल अगाडि र पछाडिको नागरिकको जीवनस्तर तुलना गर्यो भने उल्लेख्य सुधार भएको छ । कसैले केही भएको छैन भनेर दुष्प्रचार गर्छ भने भएका विकास निर्माणका कामहरुबारे तपाईं-हामीले भन्नैपर्छ ।’
त्यस्तै उनले अहिलेको सरकारले जनतालाई केन्द्रमा राखेर काम गरिर दाबी पनि गरे । राजनीतिक स्थिरताको जगमा जनतालाई केन्द्रमा राखेर प्रगतिपथमा अघि बढ्न सरकारले काम थालनी गरिसकेको भन्दै उपप्रधानमन्त्री सिंहले आउने दिनमा यसले तीव्रता पाउने बताए । सहरी विकास मन्त्रालयले सहरलाई केन्द्रविन्दुमा राखेर काम गरिररहेको भन्दै उनले नेपालका नगरहरुलाई अझ व्यवस्थित, सुन्दर र सुविधा सम्पन्न बनाउने काम अघि बढेको जानकारी गराए । कार्यक्रममा वनमन्त्री ऐनबहादुर शाही, तेह्रथुमकै प्रतिनिधिसभा सांसद सीता गुरुङ पनि सहभागी थिए ।


0 comment