काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का नेता डा. प्रकाशचन्द्र लोहनीले नेपालमा अहिले रावणहरुको शासन भएको बताएका छन् ।  राप्रपाले आज बल्खुमा गरेको खबरदारी सभामा डा. लोहनीले जनताको मत लिएका दलहरुको रावण प्रवृत्ति भएको बताएका हुन् ।

ऋण तिर्नका लागि ऋण लिनुपर्ने अवस्था आएको भन्दै नेता लोहनीले सत्ताधारी दलहरु देशलाई टाट पल्टाउने दिशातर्फ लागेको समेत आरोप लगाए ।  नेपाल सरकारको सम्पत्ति अरुलाई दिएर खरबौं लुट्ने काम भएको  बताए ।

जनताको टाउकोमा ऋण बढेर गएको उल्लेख गर्दै उनले साधारण खर्चको लागि पनि नेपाल सरकारको राजस्वले नभ्याउने स्थिति बनेको बताए ।प्रजातन्त्रको नाममा दलहरुले जनतालाई लुट्ने काम गरिरहेको उनको भनाइ थियो ।

भ्रष्टाचार गर्दिन् र गर्नेलाई पनि छोड्दिन भने पनि वर्तमान सरकारका कारण भ्रष्टाचार मौलाएको उनले आरोप लगाए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्छु भनेर अगाडि बढ्न खोज्दा कतिपय फाइललाई सत्ताधारी दलले अगाडि बढाउन नदिएको समेत उनले सुनाए ।

एक महिनाअघि नियुक्ति हुनुपर्ने राष्ट्र बैंकको गभर्नर दलहरुको भागवण्डाकै कारण रोकिएको डा. लोहनीको आरोप थियो ।

उनले चैत १५ गते भएको प्रदर्शनका क्रममा पक्राउ परेका आफ्ना पार्टीका नेताद्वय रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणालाई तत्काल रिहा गर्न पनि आग्रह गरेका छन् ।