काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जातीय पहिचानका आधारमा राज्य पुनर्संरचना गर्ने एजेन्डा नछाडेको बताएका छन् ।

काठमाडौंमा आइतबार आयोजित नेवा: राष्ट्रिय मुक्ति मोर्चाको बैठकमा उनले जातीय पहिचानको मुद्दा आफूहरूले नछाडेको स्पष्टीकरण दिए । उनले संघीयताको संरचना बनाउँदा आफूले १४ प्रदेश बनाउनुपर्ने कुरा संविधानसभामा ‘नोट अफ डिसेन्ट’को रूपमा दर्ज गराएको समेत स्मरण गराए ।

‘प्रतिक्रियावादीको ट्र्यापमा परेको हो । हामीले जातीय पहिचानको कुरा छाडेका छैनौं । भविष्यमा उठाउँछौ भनेर १४ प्रदेशको कुरा संविधानसभामा बोलिएको छ,’ उनले भने ।

त्यस्तै अध्यक्ष दाहालले वैशाख ६ गते काठमाडौंमा हुने नेवा: मुक्ति मोर्चाको सम्मेलनलाई आन्दोलनको रूपमा अगाडि बढाउने बताए । ‘प्रतिगामीहरूले फेरि टाउको उठाउन सम्भव छैन । त्यसका लागि काठमाडौंका नेवारहरू जुरुक्क उठ्नुपर्‍यो । यथास्थिति र प्रतिगामी षड्यन्त्रका विरुद्ध आन्दोलन गर्न जरुरी भयो,’ दाहालले भने ।