काठमाडौं - नेपालगन्जको बीपी चोकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) द्वारा आयोजित विरोध प्रदर्शनको क्रममा बीपी कोइरालाको सालिकमा जुटको बोराले मुख छोपिएको र मोसो दलिएको (कांग्रेसको दाबीअनुसार) घटनाले राजनीतिक माहोल तातेको छ ।
घटनाप्रति नेपाली कांग्रेस बाँकेले आपत्ति जनाउँदै दोषीलाई कारबाहीको माग गरेको छ । उता राप्रपाले भने माफी माग्दै घटनालाई भवितव्य भएको जनाएको छ ।
नेपालगन्जमा शनिबार राप्रपा नगर समितिको आह्वानमा आयोजित प्रदर्शनमा पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायत नेताहरूको रिहाइको माग गरिएको थियो । ती नेताहरू चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजसंस्था समर्थक प्रदर्शनपछिको पक्राउका कारण थुनामा परेका थिए ।
प्रदर्शनका क्रममा बीपी चोकमा रहेको शालिकमा कालोमोसो दलिएको र कालो कपडाले ढाकिएको कांग्रेसले दाबी गरेको घटनाले सामाजिक सञ्जालमा समेत तीव्र आलोचना भइरहेको छ ।
कांग्रेसका स्थानीय नेताहरूले राप्रपाका कार्यकर्ताले उग्रता देखाउँदै बीपीको सालिकमाथि दुर्व्यवहार गरेको आरोप लगाएका छन् । कांग्रेस बाँकेले आइतबार विज्ञप्ति जारी गर्दै उक्त कार्यलाई अमानवीय, असहिष्णु र असभ्य भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ । कांग्रेसले दोषी पहिचान गरी तत्काल कानुनी कारबाही गर्न सरकारसँग मागसमेत गरेको छ ।
कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले यस्तो घृणित कार्यको विरोध गर्दै आगामी दिनमा यस्ता गल्ती नदोहोराउन चेतावनी दिएका छन् । उनले लोकतन्त्रका लागि बीपीको योगदान स्मरण गराउँदै यस्तो दुस्साहस नगर्न सुझाएका छन् ।
राप्रपाले भने स्थानीयदेखि केन्द्र स्तरबाटै खण्डन गरेको छ । बीपीप्रति आफूहरूको पनि सम्मान रहेकाले यस्तो दुर्व्यवहारको कल्पनै गर्न नसकिने उनीहरूको भनाइ छ ।
राप्रपा नेपालगन्ज नगर समिति अध्यक्ष हुकुमसिंह केसीद्वार आइतबार जारी विज्ञप्तिमा सालिकमाथि भएको घटनालाई भवितव्य भन्दै माफी मागिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सबै नेपालीका साझा नेता तथा पूर्वप्रधानमन्त्री बीपी कोइरालाप्रति हाम्रो सधैँ सम्मान र विश्वास रहेको छ । सो घटनाबाट कसैको आस्थामा ठेस पुगेकोमा हामी क्षमाप्रार्थी छौं ।’
राजनीतिक मागसहितको प्रदर्शनका क्रममा यस्ता संवेदनशील विषयमा भएको घटनाले दलहरूबीचको परिपक्वता, सहिष्णुता र लोकतान्त्रिक संस्कृतिको प्रश्नसमेत उठाएको छ ।
कांग्रेसले बीपीको सालिकमा मोसो दलिएको दाबी गरे पनि प्रहरी र प्रदर्शनका क्रममा त्यहाँ उपस्थित भएकाले जुटको बोराले मुख छोपिए पनि मोसो नदलिएको दाबी गरिरहेका छन् । प्रदर्शनका क्रममा जुटको बोरा उछिट्टिएर बीपीको सालिकमा परे पनि मोसो नदलिएको प्रहरीले समेत दाबी गरेको छ ।


0 comment