काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशविरुद्ध रास्वपाले सर्वोच्च अदालत जाने भएको छ। 

पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले जनयात्रा शुभारम्भ समारोहमा बोल्दै सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गर्ने जानकारी दिएका हुन्। उनले रवि लामिछानेकै सल्लाहअनुसार सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गरिने जनाए।

वाग्लेले भरतपुरमा आयोजित कार्यक्रममा लामिछानेमाथि भइरहेको कारबाहीलाई राजनीतिक प्रतिशोधको संज्ञा दिए। चितवनमा भएको जनयात्रा शुभारम्भ समारोहमा लामिछानेले हिरासतमा बसेका ८४ दिनका अनुभव सुनाउने योजना थियो । तर त्यो हुन नदिन षडयन्त्रपूर्ण ढंगले फैसला गरेर पक्राउ गरेको वाग्लेले बताए ।

वाग्लेले सभापति लामिछानेको सांसद पद निलम्बनको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने तयारी पनि भएको जानकारी दिए। ‘उहाँको सांसद पद निलम्बन गरिएको छ, प्रतिनिधिसभाको कुनै नियमावली टेकेर त्यो गरिएको बुझिन्छ,’ उनले भने, ‘अब यस विषयमा अन्तर्राष्ट्रियकरण गर्ने गरी अघि बढ्नेछौँ।’

सरकारको औचित्य नदेखिएको भन्दै उनले रास्वपा वैकल्पिक समाधानका लागि तयार रहेको पनि स्पष्ट पारे। शुक्रबार साँझ उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएपछि प्रहरीले उनलाई साँझै निवासबाट पक्राउ गरेको थियो। उनलाई शनिबार बुटवल लगिएको छ।

सुप्रिम सहकारी काण्डमा रविसहित छविलाल जोशी र जीबी राईसमेत ४२ जनालाई प्रतिवादी बनाइएको छ। यसअघि माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।