काठमाडौं - राज्य व्यवस्था समितिका सांसदहरुले  चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका सम्बन्धमा गृहमन्त्रीको जवाफ मागेका छन् ।

समितिको आजको बैठकमा सत्तापक्षका सांसदहरुले समेत त्यस किसिमको माग गरेपछि समितिले चैत २२ गते शुक्रबार ११ बजे गृहमन्त्री रमेश लेखकलाई बैठकमा बोलाउने निर्णय गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।

कांग्रेसका सांसद विश्वप्रकाश शर्माले तीनकुने घटनाबारे सरकारको धारणा सार्वजनिक हुनुपर्ने बताए। 
साथै उनले चार हजार भीड रोक्ने क्षमता पनि राज्यसँग नभएको हो ? भनी प्रश्न गरे ।

कांग्रेसका सांसद हृदयराम थानीले प्रधानमन्त्री देश बाहिर भएकोले सरकारको तर्फबाट गृहमन्त्री लेखकले बैठकमा जवाफ दिनुपर्ने बताएका हुन्।

कांग्रेसकै  सांसद सरिता प्रसाईंले पनि घटनाबारे गृहमन्त्रीले समिति बैठकमा जवाफ दिनुपर्ने बताइन्।

चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाएको छ ।