काठमाडौं  - राष्ट्रिय मातृभूमि पार्टीले गत चैत्र १५ गतेको घटनालाई लिएर एक प्रेश विज्ञप्ति जारी गरेको छ । पार्टीका महासचिव गोविन्द गिरीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ —

“तीनकुनेमा चैत्र १५ मा आयोजित जनविद्रोह घोषणासभामा सभाको प्रारम्भमै मञ्चलाई लक्षित गरी प्रशासनको तर्फबाट निजी घरको छतबाट समेत अश्रुग्यासका शेलहरु प्रहार हुँदा सभा बिथोलिएको र  झडपमा गोली लागी सबिन महर्जन अकालमै मारिएका र रिपोर्टिङको क्रममा पत्रकार सुरेश रजक आगोले जलेर मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गर्दै दिवंगतहरु प्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौँ । उक्त ठाउँ र वरपरको क्षेत्रमा व्यक्तिगत घर, व्यावसायिक प्रतिष्ठान, राजनीतिक पार्टी कार्यालय, मिडिया हाउस, सवारीका साधन जलाइएको÷लुटिएको शंकासपद व्यक्तिहरुले हतियार प्रदर्शन गरेको, श्रव्यदृष्यका माध्यमबाट हेर्दा सुन्दा हामी स्तव्ध भएका छौँ । यस घटनाले संविधानले नागरिकलाई दिएको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार भेला हुने स्वतन्त्रताको हनन भएको छ । यो घटनाको सत्यतथ्य अनुसन्धान तथा छानबिन गर्न स्वतन्त्र न्यायिक समिति गठन गरी दोषीलाई दण्ड र पीडितलाई उचित उपचार र क्षतिपूर्ति दिलाई अविलम्व न्यायको सुनिश्चितता गरियोस । साथै, भविष्यमा यस्तो घटना दोहोरिन नदिने प्रतिबद्धता सरकारबाट आउनु पर्ने हाम्रो जोडदार माग छ ।

हाल देशमा राज्यव्यवस्थाका सबै क्षेत्र भद्रगोल हुँदा नागरिकमा असन्तोष र चरमनिराशा बढ्दो छ । नेपालको संविधानले व्यवस्था गरेको शासकीय स्वरुप, निर्वाचन प्रणाली तथा राज्य व्यवस्थापनको प्रकृति र प्रकृयाले देश र जनताको हित र कल्याण गर्न नसकेको, भ्रष्टाचार, बेथिति र कुशासन सर्वत्र फैलिएको, अर्थतन्त्रको परनिर्भरता अत्यधिक बढेको, सरकारी व्ययभार अर्थतन्त्रले थाम्नै नसक्ने स्तरमा पुगेको छ ।  व्यापार घाटा चरमचुलीमा पुगेको अवस्थाले देश भविष्यमा ऋण संकटमा पर्ने जोखिम बढेको, राजनीतिले रोजगारी प्रवद्र्धन गर्नु पर्नेमा युवा जनशक्तिलाई पासपोर्ट बनाएर विदेश लखेटिनु पर्ने अवस्था सिर्जना गराएको, अर्थतन्त्रको भावी स्वरुप र संरचना थामिनसक्नु भई जग नै भत्किने खतरा बढेको जस्ता कारणले नागरिकको बढेको असन्तोष र चिन्तालाई राज्यले तत्काल सम्बोधन गर्नै पर्छ । वर्तमान शासकीय स्वरुपले राष्ट्रका आधारभूत समस्याको समाधान गर्न नसक्ने हाम्रो निक्र्यौल छ । अतः विकृति र विसँगतिपूर्ण संसदीय शासन प्रणालीलाई विस्थापित गर्न सर्वपक्षीय वार्ता र संवाद मार्फत अघि बढ्न र सहमतिको लागि मार्ग प्रशस्त गर्न सरकारका साथै संसदमा रहेका सबै दलहरु, सम्पूर्ण देशभक्त शक्तिहरु र आन्दोलनरत पक्षसँग राष्ट्रिय मातृभूमि पार्टी आग्रह सहित हार्दिक अपिल गर्दछ ।” 

यसै विच राष्ट्रिय मातृभूमि पार्टीले वर्तमान संकटको निकाशको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको जोडदार माग गर्दै आएको छ । प्रदेश खारेजी स्थानीय तहको पुनर्संचना गरी सुदृढ र थप अधिकार सम्पन्न स्थानीय तहको व्यवस्था, आत्म निर्भर राष्ट्रिय अर्थतन्त्रको विकास, सबै खाले भ्रष्टाचार काण्डहरुको छानवीन गर्न शक्तिशाली स्वतन्त्र नागरिक छानवीन आयोगको गठन लगायतका माग अघि सार्दै आएको छ ।