काठमाडौं - सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबीच चर्काचर्की भएपछि  १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन ।

सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले अघिल्ला बैठकहरु जस्तै प्रधानमन्त्रीको जवाफ माग गर्दै अवरोध गरे ।

शुक्रबारको तीनकुने घटना, कुलमान घिसिङलाई बर्खास्तीलाई लिएर विपक्षी दलले सदन अवरुद्ध गरेका हुन् । सहमती जुटेको विषयलाई लिएर सदन अवरुद्ध गर्न नहुने सत्तापक्षी सांसदहरुको भनाइ थियो ।

प्रतिपक्षी दलले अवरोध गरेपछि सत्तापक्ष दलका सांसदहरुले पनि सदन सञ्चालनका लागि दबाब दिदै आ-आफनो ठाँउबाट उठेका थिए । त्यसपछि सभामुख घिमिरेले दुवै पक्षलाई स्थान ग्रहण गरी सभा सञ्चालनका लागि वातावरण बनाउन पटक-पटक आग्रह गरे । दुवै पक्षले आफ्नो अडान कायम राखेपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेको घोषणा गरे ।