काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नवजात शिशु र गर्भवतीको पोषण सुधारमा सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
फ्रान्सको राजधानी पेरिसमा आयोजित ‘न्युट्रिसन फर ग्रोथ पेरिस २०२५’ मा सम्बोधनका उनले मातृ शिशु पोषण सुधारमा नागरिक तहसम्मै सचेतना तथा सेवा प्रवाहमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको साथ महत्वपूर्ण रहेको बताएका हुन् ।
मन्त्री पौडेलले पछिल्ला दुई दशकमा नेपालले पाँच वर्षभन्दा मुनिका बालबालिकामा हुने पुड्कोपनामा ३२ प्रतिशत कमी ल्याएको बताए । सन् २००१ मा नेपालमा ५७ प्रतिशतमा समस्या देखिए पनि हाल यो २५ प्रतिशतमा घटेको सरकारी तथ्याङ्क छ ।
गर्भवतीलाई आइरन र फोलिक एसिड पूर्तिका लागि सरकारले दिने चक्कीका कारण यसको उपलब्धतामा ६५ प्रतिशत वृद्धि भएको उनले स्पष्ट पारे । नेपालमा छ प्रतिशत गर्भवतीमा आइरन र फोलिक एसिडको पूरकता रहेकामा हाल यसमा वृद्धि भएर ७१ प्रतिशत पुगेको छ ।
दुवै क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेका भन्दै यस कार्यक्रमलाई समुदायस्तरमै पुर्याउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र सरकारहरुबीचको समन्वयको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।
मन्त्री पौडेलले विद्यालयमा अध्ययनरत बालबालिकालाई पोषक आहारा तथा नगद सहायताका साथै गर्भवती र नवजात शिशुलाई भिटामिन ए पूर्ति, आइरन चक्की जस्ता कार्यक्रमजस्ता नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाए ।
नेपालको मातृ शिशु पोषण सुधारको अनुभवले बहुक्षेत्रीय सहकार्य, सामुदायिक संलग्नता तथा दिगो राजनीतिक प्रतिबद्धताले कुपोषणको समस्या सम्बोधन गर्न भूमिका खेलेको अनुभव मन्त्री पौडेलले सम्मेलनमार्फत अन्तर्राष्ट्रिय समुदायसँग साझा गरे ।
सम्मेलनमा सहभागी हुनुपूर्व मन्त्री पौडेलले नेपालमा गर्भवती तथा नवजात शिशुको पोषणस्तरमा सुधारका लागि विभिन्न अन्तर्राष्ट्रिय दातृ निकाय तथा परोपकारी संस्थासँग वार्ता गरेका थिए ।
अमेरिकी परोपकारी संस्था ‘एलेनर क्रुक फाउण्डेसन’ले गर्भवती र नवजात शिशुमा विभिन्न १५ प्रकारका पोषण आपूर्ति गर्ने मन्त्रालयको योजनामा साथ दिने प्रतिबद्धता जनाएको छ ।



0 comment